काडिजको पहिलो जित



मेड्रिड, (एजेन्सी) । 

स्पेनिल ला लिगामा काडिजले पहिलो जित दर्ता गरेको छ ।

शुक्रबार राति भएको खेलमा काडिजले सेल्टा भिगोलाई उसैको घरेलु मैदानमा २–१ गोल अन्तरले हराएको हो । काडिजलाई पाँचौं राउन्डमा आएर पहिलो जित दिलाउन एन्थोनी लोजानो र अल्फोन्सो स्पिनोले गोल गरे । सेल्टा भिगोका लागि सान्ति मिनाले सान्त्वना गोल फर्काए ।

पहिलो हाफमै दुई गोल गरेको काडिजलाई ३८औं मिनेटमा एन्थोनीले हेड गोल गर्दै अग्रता दिलाए । उनले टोमस अर्लाकनको फ्रिकिक पासमा गोल गरेका थिए । त्यस्तै, ४३औं मिनेटमा अलफोन्सो स्पिनोले रिवाउन्डमा गोल गर्दै काडिजको अग्रता दोब्बर बनाए । यसयघि काडिजका साभी सान्चेजले पेनाल्टीको अवसर खेर फालेका थिए । सान्चेजको प्रहारलाई सेल्टा भिगोका गोलरक्षक माटियस डिटुरोले फर्काए । सोही रिवाउन्ड बलमा अलफोन्सो स्पिनोले सोझै गोल गरेका थिए ।

दोस्रो हाफको सुरुआतमै तीन खेलाडी परिवर्तन गरेको सेल्टा भिगोले उत्कृष्ट प्रदर्शन गरेको थियो । ६४औं मिनेटमा सान्ति मिनाले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । इन्जुरी समयमा सेल्टाका इगो आसपासले पोस्ट नजिक पाएको अवसर गुमाएका थिए । ७८ प्रतिशत बल पोसेसनका राखेको सेल्टा भिगो अन्ततः हार खेप्न बाध्य बन्यो । काडिजका एन्थोनी (चोको) लोजानो ‘म्यान अफ दी म्याच’ भए ।

लिगमा पहिलो जितसँगै काडिजले पाँच खेलबाट पाँच नै अंक बनाएको छ । यसअघि काडिजले दुई खेलमा बराबरी र दुई खेलमा हार खेपेको थियो । चौथो हार खेपेको सेल्टा भिगोको एक अंक मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्