नेपाली स्नुकर टोलीको स्वागत



काठमाडौं, (नेस) । 

नेपाल स्नुकर, बिलियर्ड तथा पुल संघले ३६ औं एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा सहभागी भई स्वदेश फर्किएको नेपाली टोलीको शनिबार स्वागत गरेको छ ।

सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली सहभागी थिए । उनीहरूलाई संघका अध्यक्ष चार पटकका स्नुकरका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, महासचिव केशव अधिकारी, खेलाडीलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

विभिन्न १९ राष्ट्रका ४२ खेलाडीले सहभागिता जनाएको उक्त प्रतियोगितामा अंकितमान श्रेष्ठले प्रिक्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए । लिगमा अंकितले चार खेलमध्ये तीनमा जित हात पार्दै अन्तिम ३२ का लागि छनोट भएका थिए । उनले लिगमा कतारलाई ४–३, युएईलाई ४–२ र इराकलाई ४–३ ले पराजित गरेका थिए । भारत विरुद्धको खेलमा भने अंकित ४–० ले पछि परे । अन्तिम ३२ को प्रतिस्पर्धामा अंकितले कतारलाई ४–३ ले हराउँदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । प्रिक्वाटरफाइनलमा भने अंकित इरानसँग ४–० ले रोकिए । प्रतियोगितामा अंकितले ८३ अंकको ब्रेक गर्दै ४२ खेलाडी सहभागीमध्ये ११ औं स्थान हात पारे । अर्का खेलाडी निर्मल बोगटीले भने समान दुई–दुई खेलमा जित र हार आत्मसात गरे । उनले जोर्डनलाई ४–२ तथा कुवेतलाई ४–३ ले पन्छाएका थिए भने पाकिस्तानसँग ४–० र कतारसँग ४–३ ले पछि परे ।

अध्यक्ष मुल्मीले सीमित स्रोत र साधनका बावजुद खेलाडीले उच्च प्रदर्शन गरेकोमा बधाइ दिँदै नेपाली खेलाडी पनि कोहीभन्दा कम नभएको सन्देश दिन सफल भएको धारणा व्यक्त गरे । नेपाल स्नुकर, बिलियर्ड तथा पुल संघका सचिवसमेत रहेका सञ्जयकुमार मुल्मीले टोली प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्