फिलिपिन्ससँग हा-यो नेपाल



नेपाल समाचारपत्र, काठमाडौं ।

अन्तिम केही मिनेट सम्हालिन नसक्दा एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूहको पहिलो खेलमा फिलिपिन्ससँग नेपाल महिला फुटबल टोली पराजित भएको छ ।

उज्ज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले अन्तिम समयमा लगातार दुई गोल बेहोरेपछि २–१ गोलअन्तरले पराजित भएको हो । नेपालले खेलको ९०औं र इन्ज्युरी समयको दोस्रो मिनेटमा लगालग गोल बेहोरेपछि हारको मुख देख्नु परेको हो । त्यसअघि नेपालकी विमला चौधरीले खेलको दशौं मिनेटमा सुरुआती अग्रता दिलाएकी थिइन् । तर, पहिलो हाफमै घाइते भएपछि उनले ३९औं मिनेटमा मैदान छाडिन् । नेपालका लागि दोस्रो हाफमा मैदान प्रवेश गर्दै डिफेन्डर विमला विकले भने सिनियर टोलीबाट डेब्यु गर्ने क्रममा ६३ औं मिनेटमा पूजा रानालाई स्थापन्न गरेकी थिइन् ।

जितसँगै फिलिपिन्सले पहिलो खेलमा तीन अंक जोडेको छ । नेपालले अब अर्को खेलमा मंगलबार हङकङको सामना गर्नेछ । उक्त खेल जितेमा नेपाल एसियन कपका लागि छनोट सम्भावना जीवितै रहनेछ । समूह विजेता सोझै एसियन कपको लागि छनोट हुने प्रावधान छ । एसियन कप छनोट भए नेपाल विश्वकप छनोटमा पनि अघि बढ्नेछ । एएफसीले विश्वकप छनोट हुने प्रक्रियाबारे अहिलेसम्म प्रष्ट नपारे पनि एसियन कपकै नतिजाले विश्वकपमा छनोट हुने भनेर चाहिँ उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्