बलियो टोली पीएसजी बराबरीमा रोकियो



लन्डन, (एजेन्सी)  ।  

लियोनल मेसी, नेयमार, क्लियन एम्बाप्पेजस्ता सुपरस्टार खेलाडीहरूको अग्रपंक्ति रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणको पहिलो खेलमै बराबरीमा रोकिएको छ ।

बुधबार राति भएको समूह चरणको पहिलो खेलमा पीएसजीलाई बेल्जियमको क्लब ब्रुगीले १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो । पाहुना टोली पीएसजीविरुद्ध क्लब ब्रुगीले निकै उत्कृष्ट र रोमाञ्चक खेल पस्केको थियो । क्लब ब्रुगीको घरेलु मैदानमा पीएसजीका लागि खेलको १५औं मिनेटमा एन्डर हरेराले सुन्दर गोल गरेर अग्रता दिलाएका थिए । क्लियन एम्बाप्पेले दिएको क्रस पासमा हरेराले बललाई लो सटमा आकर्षक गोल गर्न सफल भए । तर, घरेलु टोली ब्रुगी चाँडै नै खेलमा फर्कियो ।

युवा खेलाडीको जोश र उर्जाले भरिभराउ क्लब ब्रुगीका लागि खेलको २७औं मिनेटमा हान्स भानाकेनले क्रस पासमा निकै शानदार गोल गरेर खेल १–१ बनाए । उनको गोलमा पीएसजीका गोलकिपर केयलर नाभासले रोक्ने कुनै मौका नै पाएनन् । त्यसपछि बाँकी समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल १–१ को बराबरीमा सकियो ।

उक्त खेल सुपरस्टार लिओनल मेसीका लागि पीएसजीको जर्सीमा पहिलो च्याम्पियन्स लिग म्याच थियो । उनको यो खेललाई ठूलो प्रतीक्षाका साथ हेरिएको थियो । तर, उनले व्यक्तिगतरूपमा यस खेलमा पनि गतिलो प्रभाव पार्न सकेनन् । उनको एक प्रहार पहिलो हाफमा पोलमा लागेर बाहिरिनुबाहेक उनले कुनै पनि गतिलो अवसर सिर्जना गर्न सकेनन् ।

त्यसबाहेक विपक्षी खेलाडीमाथि खराब फाउल गरेपछि मेसीले पहेंलो कार्ड दर्शन गरे । मेसीले यसअघि डेब्यू खेलमा जम्मा २४ मिनेट खेलेका थिए । बुधबार भने च्याम्पियन्स लिगमा पूरै समय खेले । तर, यी दुवै खेल सकिँदा मेसीले पीएसजीमा गोल र असिस्ट दुवै गर्न सकेका छैनन् ।

रियलको जित

त्यस्तै, स्पेनिस क्लब रियल मेड्रिडले पनि युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनमा सुखद शुरुआत गरेको छ । बुधबार भएको समूह चरणको पहिलो खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई उसैको घरेलु मैदानमा १–० ले हराउँदै प्रतियोगितामा सुखद थालनी गरेको हो । रियलले मिलानको घरेलु मैदानमा खेलको ८९औं मिनेटमा विजयी गोल ग¥यो । खेलभरि मिलानले पाहुना टोली रियलमाथि चर्को दबाब बनाएर खेले पनि नतिजा भने रियलले निकाल्न सफल भयो । रियलका लागि सब्सिच्युट युवा खेलाडी रोड्रिगो गोएसले ८९औं मिनेटमा गोल गरेपछि मिलान आफ्नै घरमा स्तब्ध बन्यो । ब्राजिलियन रोड्रिगोले गोल गर्दै रियललाई कठिन तर ज्यादै महत्वपूर्ण जित दिलाउन सफल भए ।

रोड्रिगो खेलको ६५औं मिनेटमा लुकास भास्क्वेजको स्थानमा मैदान छिरेका थिए । मैदानमा मात्रै २३ मिनेट बिताएपछि रोड्रिगोले मिलानको पोस्टमा गोल गर्न सफल भए । डीबक्सभित्र नयाँ खेलाडी इडुआर्डो कामाभिंगाले दिएको भली पासमा रोड्रिगोले पनि भली सटमै बललाई सोझै जाली चुमाएका थिए ।

त्यसैगरी, इंग्लिस क्लब म्यानचेस्टर सिटीले पनि जर्मनीको आरबी लेइप्जिगलाई हराएको छ । बुधबार राति नयाँ सिजनको लिगमा पहिलो म्याच खेलेको सिटीले घरेलु मैदानमा लेइप्जिगलाई ६–३ गोलअन्तरले हराएको हो । सिटीको जितमा नाथन एके, रियाद महारेज, ज्याक ग्रिलिस, जाओ क्यान्सेलो र ग्राबियल जेससले एक–एक गोल गरे । सिटीले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । आरबी लेइप्जिगका लागि भने क्रिस्टोफर कुन्कुले ह्याट्रिक गोल गरे ।

खेलको छैटौँ मिनेटमा एकेले गोल गरेपछि सिटीले शुरुआती अग्रता बनाएको थियो । २८औँ मिनेटमा लेइप्जिगका नोर्दी मुकिएलेले आत्मघाती गोल गर्दै सिटीको अग्रता दोब्बर बनाइदिए । ४२औँ मिनेटमा कुन्कुले गोल गर्दै लेइप्जिगलाई खेलमा फर्काउने प्रयास गरे । पहिलो हाफको इन्ज्युरी समयमा महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई ३–१ गोलको अग्रता दिलाए ।

खेलको ५१औँ मिनेटमा कुन्कुले गोल गर्दै लेइप्जिगलाई ३–२ को अवस्थामा फर्काए । तर, ग्रिलिसले ५६औँ मिनेटमा गोल गर्दै सिटीको अग्रता फराकिलो बनाए । कुन्कुले ७३औँ गोल गर्दै ह्याट्रिक पूरा गरे । ७५औँ मिनेट र ८५औँ मिनेटमा क्रमशः क्यान्सेलो र जेससले गोल गरेपछि सिटी ६–३ गोलले विजयी बन्यो ।

लिभरपुलको कमब्याक जित

त्यसैगरी, अर्को इंग्लिस क्लब लिभरपुलले पनि उत्कृष्ट कमब्याक जित निकाल्यो । बुधबार राति भएको समूह चरणको पहिलो खेलमा लिभरपुलले आफ्नो घरेलु मैदानमा इटालियन सिरी क्लब एसी मिलानमाथि ३–२ को पुनरागमन जित निकालेको हो । खेलको ४४औं मिनेटमा २–१ ले पछि परेको स्थितिमा लिभरपुलले दोस्रो हाफमा दुई गोल गरेर कमब्याक जित निकालेको हो ।

खेलमा भएका पाँच गोलमध्ये एसी मिलानले एक गोल आफ्नै पोस्टमा गर्‍यो भने बाँकी दुई गोल लिभरपुल र दुई गोल एसी मिलानले ग¥यो । खेलको नवौं मिनेटमा लिभरपुलका डिफेन्डर अलेक्जान्डर अर्नोल्डको सट मिलानका फिकायो टोमोरीलाई लाग्दै बलले जाली चुमेपछि लिभरपुलको खातामा उपहार गोल दर्ता भयो ।

तर, त्यसपछि एसी मिलानले तीन मिनेटको बीचमा लगातार दुई गोल गर्‍यो । खेलको ४२औं मिनेटमा एन्टे रेबिचेले लो सटमा निकै सुन्दर फिनिसिङमा गोल गरेर खेल बराबरी बनाए । त्यसको दुई मिनेटमै एसी मिलानले दोस्रो गोल हानेर लिभरपुलको घरमा रोमाञ्चक तरिकाले २–१ को अग्रता बनायो । यसपटक लोन खेलाडी ब्राहिम डियाजले गोल गरेर एनफिल्ड रंगशालामा लिभरपुललाई ठूलो झट्का दिए ।

पहिलो हाफमा लिभरपुलको घरेलु मैदानमा अग्रता बनाएको एसी मिलानले दोस्रो हाफको शुरुआतमै गोल बेहोर्न पुग्यो । खेलको ४८औं मिनेटमा मोहमद सालाहले गोल गरेर खेल २–२ बनाएर बनाएपछि लिभरपुलले शान्तिको सास फेरेको थियो । त्यसपछि ६९औं मिनेटमा लिभरपुलका लागि जोर्डन हेन्डर्सनले शानदार गोल गरे । कर्नर किकबाट आएको बल रिबाउन्ड भएर फर्किंदा बक्स बाहिरबाट उनले शक्तिशाली लो सटमा सानदार गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । सो गोलपछि खेलमा दुवै पक्षबाट थप हुन सकेन र खेल लिभरपुलले ३–२ ले जित्यो । अब यो जितपछि लिभरपुलले समूह ‘बी’ मा ३ अंक जोडेको छ ।

हालरको चार गोल

त्यसैगरी, सेवास्टिन हालरले चार गोल गरेपछि डच क्लब आयाक्सले पनि स्पोर्टिङ लिस्बनमाथि ५–१ को सानदार जित हात पा¥यो । वेस्टह्यामका पूर्वस्ट्राइकर हालरले दोस्रो मिनेटमा आयाक्सलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेटपछि उनले आयाक्सको अग्रता दोब्बर पारेका थिए । खेलको ३३औं मिनेटमा पेनाल्टीको सदुपयोग गर्दै पाउलिन्होले लिस्बनलाई खेलमा फर्काउने संकेत गरेका थिए । खेलको ३९औं मिनेटमा स्टेफन बार्घुइसले गोल गर्दै आयाक्सलाई ३–१ को अग्रता दिलाए ।

खेलको ५१औं मिनेटमा व्यक्तिगत ह्याट्रिक पूरा गरेका हालरले र ६३औं मिनेटमा अर्को गोल गरेसँगै आयाक्सले समूह ‘सी’ मा सानदार शुरुआत गर्‍यो । हालार सन् १९९२ मा एसी मिलानका मार्को भान बास्टेनपछि च्याम्पियन्स लिगको ‘डेब्यु’ खेलमै चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । समूह ‘सी’ को अर्को खेलमा जर्मन महारथी बोरुसिया डर्टमन्डले बेसिक्टासलाई २–१ ले हरायो । जुडे बेलिङघम र इर्लिङ हलान्डको गोलमा डर्टमन्डले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । इन्जुरी समयमा फ्रान्सिस्को मोन्टेरोले बेसिक्टासका लागि सान्त्वना एक गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्