सेन्ट किट्सलाई सीपीएल उपाधि



लन्डन, (एजेन्सी) ।

क्यारेबियन प्रिमियर लिग २०२१ (सीपीएल) को यस सिजनमा ड्वेन ब्राभोको टोली सेन्ट किट्स एन्ड पेट्रियटस्ले उपाधि जितेको छ ।

फाइनल खेलमा सेन्ट लुसियालाई ३ विकेटले हराएर सेन्ट किट्सले उपाधि जितेको हो । सेन्ट लुसियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । टोलीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । जवाफमा सेन्ट किट्सले अन्तिम बलमा ७ विकेटको नोक्सानी बेहोरेर लक्ष्य पार गरेको थियो । योसँगैं सीपीएलमा सेन्ट किट्सले पहिलोपटक उपाधि जित्यो ।

सेन्ट किट्सलाई जितको लागि अन्तिम तीन ओभरमा ३१ रनको आवश्यक थियो । टोलीको ५ विकेट गुमिसकेको अवस्था थियो । क्रिजमा डोमिनिक ड्रेक्स र फाबियन एलेन थिए । दुवै खेलाडीले १८ औ ओभरमा १० रन जोडे । त्यसपछि अन्तिम २ ओभरमा २१ रनको जरुरी भएको थियो । १९ औं ओभरमा सेन्ट लुसियाका बलर वहाब रियाजले ११ रन दिए तर, यसै ओभरको पहिलो बलमा एलेन तथा पाँचौं बलमा सेल्डन काटे«ल रनआउट भएका थिए ।

सात विकेट गुमेपछि सेन्ट किट्सले अन्तिम ३ बलमा जितको लागि ७ रन बनाउनुपर्ने थियो । उता सेन्ट लुसियाले किफायती बलिङ गर्नुपर्ने जरुरी भएको थियो । यो समीकरणको बीचमा आवश्यक हुन आएको थियो । केसरिक विलियम्सको बलमा ड्रेक्सले पहिलो बलमा २ रन, फेरि चौका प्रहार गरेर स्कोर १ सय ५९ को बराबरी गरे । अन्तिम बलमा सिंगल लिएर उनले टोलीलाई पहिलोपटक उपाधि दिलाएका थिए ।

यसअघि, सेन्ट किट्सको शुरुआत खराब भएको थियो । ओपनर क्रिस गेल रन नबनाइकन आउट भए । एभिन लुइस ६ रनमा आउट भए । त्यसपछि जोसुआ डिसिल्भाले ३२ बलमा ३७ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । सेरफेन रदरफोर्डले २२ बलमा २५ रन जोडेका थिए । यी दुवैजना ब्याटसम्यान आउट भएपछि ब्राभोले पनि केही गर्न सकेनन् । उनी ८ रनमै पभेलियन फर्केका थिए ।

सेन्ट लुसियाले पहिले ब्याटिङ गर्दा कप्तान आन्द्रे फ्लेचर र रहकिम कार्नभालले पहिलो विकेटका लागि २५ रन जोडेका थिए । फ्लेचर ११ रन बनाएर आउट भए भने अर्का ब्याटसम्यान मार्क देयाल १ रन बनाएर आउट भएका थिए । कार्नभाल र रोस्टन चेजले तेस्रो विकेटका लागि ४४ रनको साझेदारी गरे । दुवैले ४३/४३ रनको योगदान दिए ।

सेन्ट लुसियाले ५ विकेटका लागि १ सय रन बनाएका थिए । तर, सातौं नम्बरमा ब्याटिङ गर्न आएका किमो पालले ब्याटिङ सम्हाले । उनले २१ बलमा ५ छक्काको सहयोगमा ३९ रन बनाएर सम्मानजनक स्कोरमा पुर्‍याएका थिए । सेन्ट किट्सका बलरमा फवाद अहमद र नसिम शाहले २/२ विकेट लिए भने फाबियन एलेन, डोमिनिक डे«क्स र जोन रुस जेगेसरले १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्