उच्च मनोबलको पोखरा राइनोज



पोखरा, (नेस) ।

नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिगको चौथो संस्करणमा पोखरा राइनोज उच्च मनोबलका साथ देखिने भएको छ । लिगको यस अघिका सबै सिजनमा सहभागी राइनोजको यसपटक उपाधि जित्ने लक्ष्य रहेको छ । यसका लागि राइनोजले आफ्नो नयाँ लोगो र नयाँ रंगसहितको परिवर्तित जर्सी सार्वजनिक गरेको छ ।

जितको प्रतीक सुन्तला रङ्ग थपिएको राइनोजको पछिल्लो लोगोमा गैंडाको टाउको देखाइएको छ भने माछापुच्छ्रे हिमाल मुनि ब्याट्सम्यानले बल प्रहार गरेको पनि लोगोमा झल्काइएको छ ।

राइनोजको नयाँ जर्सीमा पनि पोखराको प्रतीक झल्कने माछापुच्छ्रे हिमाल राखेको छ । जर्सीको प्रायोजन सेभेन–अ ब्रान्ड वाई एमएस धोनीले गरेको छ । त्यस्तै, मुख्य प्रायोजकमा सौर्य सिमेन्ट, जगदम्बा सुपर साइन रहेको छ भने अधिकारिक प्रायोजकमा मित्सुुबिसी मोटर्स, एड्नोक र कान्तिपुर मिडिया रहेका छन् । हस्पिटालिटीको प्रायोजनमा याक एन्ड यति काठमाडौं तथा क्लोज क्याम्प पार्टनरमा हायात रिजेन्सी रहेका छन् ।

आगामी असोज ९ देखि २३ गतेसम्म काठमाडाैँस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शुरू हुने एभरेस्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि यसपटक पोखरा राइनोजसहित काठमाडौं किंग्स–११, ललितपुर प्याट्रियाटस, विराटनगर वारियर्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्स आमने सामने हुँदैछन् ।

यसपटकको ईपीएल विजेताले नगद ५० लाख रुपैयाँसहित उपाधि जित्दा उप–विजेताले नगद १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी, लिगमा विभिन्न विधाका खेलाडीहरूले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्