फुटसल टोलीलाई लोकतान्त्रिकको बिदाइ



काठमाडौं, (नेस) ।

पोखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगमा सहभागी हुन जाने प्रभातफेरी युथ क्लब, टोखालाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले बुधबार बिदाइ गरेको छ ।

बागमती प्रदेशबाट छनोट भएको चार टोलीमध्येमा परेको प्रभातफेरीका खेलाडी, अफिसियल तथा प्रशिक्षकलाई चक्रपथस्थित हेडलाइन क्याफेमा नेपाल सरकारका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले खेलाडीहरूलाई खादा लगाएर बिदाइ गरे ।
खेलाडीहरूलाई शुभकामना दिँदै प्रमुख अतिथि महतले उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदै विजयी हासिल गरेर फर्कन सुझाब दिए । उनले मानसिक र शारीरिक तन्दुरुस्तीका साथै युवाहरूलाई समेटेर लोकतान्त्रिक माध्ययमले खेलकुदको विकास गर्ने उद्देश्यले नेपाल लोकतान्त्रिक खेलकुद संघको स्थापना भएको बताए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सचिव मनीष जोशीले टोखाको नेतृत्व गर्दै प्रतियोगितामा सहभागिता जनाउन लागेका क्लब तथा खेलाडीहरूलाई शुभकामना दिँदै गजराज जोशीको जन्मस्थल र विभिन्न खेलमार्फत खेलाडी र खेलको विकास गर्दै आइरहेको बताउँदै खेलाडीहरूलाई विजयी भएर आउन बधाई दिए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका प्रमुख दीपक गुुरुङले खेलाडीहरूलाई शुभकामना प्रदान गर्दै खेलाडीहरूलाई विजयी भएर आउन भन्दै विजयी भएर आएको खण्डमा खेलाडीहरूलाई उचित नगद पुरस्कारले सम्मान गर्ने बताए । उनले नेपाल लोकतान्त्रिक खेलकुद संघ खेल र खेलाडीहरूको हकर हितका लागि स्थापित संस्था भएकोले बागमती प्रदेशले विभिन्न खेल आयोजना, खेलाडीहरूलाई सम्मानका साथै प्रकोपमा परेकाहरूका लागि पनि सहयोग पुर्‍याउँदै आएको स्मरण गराए ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्यलगायत बागमती प्रदेशका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

आश्विन २ देखि २२ गतेसम्म आयोजना हुने लिगका लागि बागमती प्रदेशबाट प्रभाफेरी युथ क्लब, टोखाका साथै ढुकु फुटसल चण्डोल, शंखमुल फुटसल र स्काई गोल्स, चक्रपथ छनोट भएका छन् । टोली बिहीबार पोखरा प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलमा विशाल सारुमगर (कप्तान), सुदीप पन्त, राज पौडेल, आलिग तामाङ्ग, सन्तलाल गुरुङ्ग, धीरज जोशी, श्रीजेश पुरी, सिजन गुरुङ्ग, विवेक सारु मगर, सुविल श्रेष्ठ, सुनिल श्रेष्ठ, धीरज श्रेष्ठ, दीपेश श्रेष्ठ, आशिष गुरुङ्ग रहेका छन् । यस्तै, टिम व्यवस्थापकमा कृष्णराम श्रेष्ठ र टिम प्रशिक्षकमा सरोज थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्