बायर्नसँग सहजै हार्‍यो बार्सिलोना



BARCELONA, SPAIN – SEPTEMBER 14: Bayern Munichâs forward Robert Lewandowski (L) celebrates his goal during the UEFA Champions League group E match between FC Barcelona and Bayern Muenchen at Camp Nou stadium on September 14, 2021 in Barcelona, Spain. (Photo by Adria Puig/Anadolu Agency via Getty Images)

लन्डन, (एजेन्सी) ।

युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन २०२१–२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई सहजै हराएको छ ।

मंगलबार राति भएको उक्त खेलमा पाहुना टोली बायर्नले घरेलु टोली बार्सिलोनालाई उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले हराएको हो । दुई सिजनअघि पोर्चुगलमा भएको च्याम्पियन्स लिगकै क्वार्टरफाइनल खेलमा लिओनल मेसी, लुइस स्वारेज र एन्टोनी ग्रिजम्यान सहितको बार्सिलोनामाथि बायर्नले ८–२ गोलअन्तरको जित निकालेको थियो ।

बार्सिलोना आफ्नै घरेलु मैदानमा हार्दा खेलभरिमा एकपटक पनि बायर्नको गोलपोस्टमा अन टार्गेट सट लगाउन सकेन । क्याम्प नोउ रंगशालामा बार्सिलोनाविरुद्ध बायर्नले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा दुई गोल गरेको थियो । रोनाल्ड कोम्यानको घरेलु टोली बार्सिलोनाविरुद्ध शुरुआतबाटै आक्रामक खेलेको बायर्नले खेलको ३४औं मिनेटमा गोलको खाता खोल्यो । जर्मन खेलाडी थोमस मुलरले लामो दूरीबाट कडा प्रहारमा गोल गरेर घरेलु टोलीलाई झट्का दिएका थिए ।

करिब २५ यार्ड दूरीबाट मुलरले हानेको शक्तिशाली प्रहार बार्सिलोनाका युवा डिफेन्डर इरिक गार्सियाको ढाडमा लाग्दै रिफ्लेक्ट भएर जाली चुमेको थियो । बल आफ्नै सहकर्मीलाई लागेर रिफ्लेक्ट भएपछि बार्सिलोनाका जर्मन गोलकिपर मार्क आन्द्रे टर स्टेगेनले बलको दिशा पहिल्याउन नसक्दा घरेलु टोलीले गोल बेहोरेको थियो । सो गोलपछि बायर्न बार्सिलोनामाथि थप हावी भएको थियो ।

त्यसपछि, खेलको ५६औं मिनेटमा पोलिश फरवार्ड रोवर्ट लेवान्डोस्कीले गोल गरे । जमल मुसियालको प्रहार गोलपोस्टको पोलमा लागेर रिबाउन्ड भएको बलमा लेवान्डोस्कीले सजिलै गोल गरेर खेल २–० बनाए । लेवान्डोस्की त्यत्तिमै अडिएनन् । उनले खेलको ८५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल पनि थपे । यसपटक पनि लेवान्डोस्कीले नै रिबाउन्डमा गोल गर्न सफल भएका थिए । उनको सो गोलसँगै बायर्नले खेल सहजै आफ्नो पक्षमा पार्‍यो ।

आफ्नो घरेलु मैदानमा बार्सिलोना बायर्नविरुद्ध फितलो देखिएको थियो । बार्सिलोनाले खेलभरिमा जम्मा पाँचपटक मात्रै सट हान्दा एउटा पनि अन टार्गेट राख्न सकेन । यता, बायर्नले बार्सिलोनाविरुद्ध कुल १७ सट हान्दा ७ सट अन टार्गेट हानेको थियो । लेवान्डोस्कीले खेलको अन्तिम समयमा ह्याट्रिक गर्ने अवसर पाए पनि त्यसमा चुकेका थिए ।

म्यानचेस्टर युनाइटेड पराजित

च्याम्पियन्स लिगअन्तर्गतकै अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड भने पराजित भयो । युनाइटेड युरोपियन च्याम्पियन्स लिग फुटबलमा नयाँ सिजनको पहिलो खेलमै अप्रत्यासित हारको शिकार भएको हो । मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डको क्लब योङ ब्वाइजले १० खेलाडीमा सीमित युनाइटेडलाई २–१ ले स्तब्ध बनायो । युनाइटेडका खेलाडीले इन्जुरी समयको अन्तिम १२ सेकेन्ड बाँकी छँदा विपक्षी खेलाडीलाई बल असिस्ट गरेपछि हार्न पुगे ।

योङ ब्वाइजको घरेलु मैदानमा युनाइटेडले खेलमा पहिलो अग्रता बनाएको थियो । त्यसपछि रातो कार्ड बेहोरेर १० खेलाडीमा खुम्चिएको युनाइटेडले बराबरी गोल बेहोरेको थियो । त्यसपछि अन्तिम समयमा ब्याक पासमा ठूलो गल्ती गर्दा अप्रत्यासित हार भोग्न बाध्य भयो ।

योङ ब्वाइजको घरेलु मैदानमा पाहुना टोली युनाइटेडले खेलको १३औं मिनेटमै क्रिस्टियानो रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । ब्रुनो फर्नान्डेजको क्रस पासमा रोनाल्डोले हानेको प्रहार विपक्षी टिमका गोलकिपरले राम्रोसँग रोक्न नसक्दा बलले गोललाइन नाघेको थियो । युनाइटेडमा दोस्रोपटक अनुबन्ध भएका रोनाल्डोले च्याम्पियन्स लिगको पहिलो खेलमै गोल गरेर सुखद शुरुआत गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

१३औं मिनेटमा खेलमा अग्रता बनाएको युनाइटेडलाई ३५औं मिनेटमा झट्का लाग्यो । डिफेन्डर आरोन वान वैशाका खराब फाउलका कारण सोझै रातो कार्ड खाएर मैदान छाडेपछि पाहुना टोली १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि योङ ब्वाइजका लागि खेलको ६६औं मिनेटमा मोउमीले गोल गरेर खेल १–१ बनाए ।

१० खेलाडी भएपछि दबाबमा परेको युनाइटेडले सो गोल बेहोरेपछि झनै दबाब खेप्नुपर्‍यो । खेल १–१ गोलकै बराबरीमा सकिन लाग्दा ७१औं मिनेटमा रोनाल्डोको स्थानमा मैदान छिरेका जेसे लिन्गार्डले आफ्ना सहकर्मीलाई बल ब्याक पास दिँदा गल्ती गर्न पुगे । उनले आफ्नै साथीलाई दिएको ब्याक पास गोलकिपरसम्म पुग्नै नपाई विपक्षी खेलाडी सनले नियन्त्रणमा लिएर हानेपछि खेल योङ ब्वाइजले खेल २–१ ले जित्यो ।

युभेन्टसको जित

त्यसैगरी, युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनमा इटालियन क्लब युभेन्टसले पनि शानदार सुरुआत गर्‍यो । मंगलबार राति नै भएको समूह चरणको पहिलो खेलमा युभेन्टसले अवे मैदानमा स्वीडेनको क्लब माल्मोलाई ३–० ले हराउँदै शानदार शुरुआत गरेको हो । अवे मैदानमा भएको खेलमा युभेन्टसले क्लिन सिटसहितको जित निकाल्न सफल भयो । युभेन्टसले तीनवटै गोल पहिलो हाफमा गरे ।

सो खेलअघि सिरी ‘ए’ लिगमा तीन खेलबाट मात्रै एक खेल बराबरी र दुई खेल हारेर १६औं स्थानमा पुगेको युभेन्टसले च्याम्पियन्स लिगमा भने राम्रो शुरुआत गर्न सफल भएको हो । क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछिको पहिलो च्याम्पियन्स लिग खेलमा युभेन्टसलाई जिताउन तीन जना खेलाडीले गोल गरे ।

पहिलो गोल खेलको २३औं मिनेटमा ब्राजिलियन डिफेन्डर एलेक्स सान्ड्रोले गरेका थिए । उनले रोड्रिगो बेन्टाकुरको क्रस पासमा डाइभिङ हेडिङमा गोल गरेर घरेलु टोलीविरुद्ध अग्रता दिलाएका थिए । त्यसपछि, पहिलो हाफको इन्जुरी समयमा युभेन्टसले अग्रता दोब्बर बनाउन सफल भयो । ४५औं मिनेटमा माल्मोका खेलाडीले डीबक्सभित्र अल्भारो मोराटालाई तानेर लडाएपछि रेफ्रीले युभेन्टसलाई पेनाल्टीको मौका दिए ।

जसमा कप्तान पाउलो डिबालाले पेनाल्टी प्रहार गर्दै गोल गर्न सफल भए । लगत्तै अर्को मिनेटमा युभेन्टसका लागि मोराटाले गोल थपे । विपक्षी डिफेन्स लाइनलाई बिट गर्दै उनले चिप गर्दै प्रहार गरेको बल गोलमा परिणत भएपछि पहिलो हाफमै युभेन्टस ३–० ले अघि रह्यो । त्यसपछि दोस्रो हाफमा दुवै तर्फबाट थप गोल नहुँदा युभेन्टसले पहिलो हाफकै अग्रता बचाएर खेल जित्यो ।

चेल्सीको विजयी शुरुआत

त्यस्तै, डिफेन्डिङ च्याम्पियन चेल्सीले पनि युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनमा विजयी शुरुआत गर्‍यो । मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा चेल्सीले आफ्नो घरेलु मैदानमा रसियन क्लब जेनिटमाथि १–० को साँघुरो जित निकाल्न सफल भयो ।

आफ्नो घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जित दिलाउन नयाँ फरवार्ड रोमेलु लुकाकुले गरेको एक मात्रै गोल निर्णायक बन्यो । उनले खेलको ६९औं मिनेटमा क्रस पासमा गरेको एक मात्रै हेडिङ गोलको मद्दतमा १–० को जित निकाल्न सफल भयो । तुलनात्मकरूपमा कमजोर मानिएको जेनिटविरुद्ध एक गोल गर्न पनि चेल्सीले ठूलै संघर्ष गर्नुपरेको थियो ।

चार पेनाल्टीको खेल

मंगलबार राति नै भएको अर्को खेलमा रेफ्रीले चारवटा पेनाल्टी र एउटा रातो कार्ड दिएको खेलमा सेभिया र साल्जबर्गले १–१ गोलको बराबरी खेल्दै समान अंक बाँडे । उक्त खेलमा सेभियाका युसुफ इन नासिरीले ५०औं मिनेटमा दोस्रो पहेलो कार्डसँगै रातो कार्डको सामना गरेका थिए । त्यसपछिको ४० मिनेटभन्दा लामो समय घरेलु टोलीले १० खेलाडीमा सीमित भएर संघर्ष गर्नुपरेको थियो ।

खेलको २१औं मिनेटमा लुका सुसिचले पेनाल्टीमा गरेको गोलबाट भ्रमणकारी साल्जबर्गले अग्रता लिएको थियो । ३७औं मिनेटमा अर्को पेनाल्टीको अवसर पाएको साल्जबर्गले अग्रता दोब्बर बनाउन भने सकेन । सुसिचको प्रहार पोस्टमा लागेर फर्किएको थियो । च्याम्पियन्स लिगको इतिहासमा एकै खेलमा तीन पेनाल्टी पाउने साल्जबर्ग पहिलो टोलीसमेत बनेको छ ।

सेभियाले पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा पेनाल्टीमै गोल गरेर खेल बराबरीमा ल्यायो । टोलीका लागि क्रोएसियाली स्टार इभान राकेटिचले पेनाल्टीलाई बराबरी गोलमा परिणत गरेका थिए । अन्य खेलमा फ्रेन्च क्लब लिले र जर्मन क्लब उल्भ्सवर्गले गोलरहित बराबरी खेले । अर्को खेलमा डाइनामो किभ र बेनेफिकाले पनि गोलरहित बराबरी खेल्दै समान अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्