बर्लिन म्याराथनमा महर्जन



काठमाडौं, (नेस) ।

विश्वप्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा धावक धर्म महर्जनले सहभागिता जनाउने भएका छन् । त्यसका लागि महर्जन बिहीबार जर्मनीको बर्लिन प्रस्थान गर्दै छन् ।

बैकुण्ठ मानन्धर खेलकुद नेपाल र गजराज जोशी मेमोरियल ट्रस्टले संयुक्त कार्यक्रम आयोजना गरी बुधबार बिदाइ गरे । महर्जनलाई अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापा, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धर, पूर्वधावक एवं गीतकार बुद्धिवीर लामा, ट्रस्टका अध्यक्ष मनीषराज जोशीलगायतले बिदाइ गरे ।

महर्जनले सेप्टेम्बर २६ तारिखमा हुने बर्लिन म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्नेछन् । महर्जन सहभागी हुने ४५ वर्षमाथिको उमेरसमूहको म्याराथनमा करिब १० हजार धावकको सहभागिता रहने बताइएको छ ।

महर्जनको यो समग्रमा नवौं अन्तर्राष्ट्रिय सहभागिता हो । यसअघि, उनले अमेरिका, थाइल्यान्ड, जापान, नेदरल्यान्ड र चीनमा विभिन्न दूरीको दौडमा सहभागिता जनाइसकेका छन् । त्यसमा जापानमा भएको १८औं एसियाली मास्टर्स च्याम्पियनसिपमा महर्जनले कांस्य जितेका थिए । जुन उनको करियरकै सबैभन्दा ठूलो उपलब्धि हो । महर्जनले तीन राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको फुल म्याराथनतर्फ सहभागिता जनाइसकेका छन् ।

महर्जनले बर्लिन म्याराथनमा २ घण्टा ४५ मिनेटमा दौड पूरा गर्ने लक्ष्य रहेको बताउँदै सहभागिताका लागि सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै धन्यवाद दिए । उनका अनुसार कीर्तिपुर नगरपालिकाले ५० हजार, कीर्तिपुर खेलकुद समाजले २१ हजारसहित व्यक्तिगतरूपमा पनि सहयोग प्राप्त भएको जानकारी दिए ।

बिदाइ कार्यक्रममा पूर्वअध्यक्ष थापाले २५ हजार तथा ट्रस्टका अध्यक्ष जोशीले ५ हजार आर्थिक सहयोग उपलब्ध गराए । बैकुण्ठ मानन्धर खेलकुद नेपालले पनि महर्जनलाई आर्थिक सहयोग प्रदान गरेको थियो । ट्रस्टका अध्यक्ष जोशीले महर्जनले उत्कृष्ट प्रदर्शन गरेको खण्डमा नगद पुरस्कारसहित पुरस्कृत गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्