रिभाइभ लिजरपार्क ब्याडमिन्टन असोजमा



नेपाल समाचारपत्र, काठमाडौं ।

रिभाइभ लिजरपार्कको स्थापनाको उपलक्ष्यमा ‘प्रथम रिभाइभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’ आगामी असोज १ गतेदेखि हुने भएको छ ।

पार्कको आफ्नै कभर्डहलमा हुने च्याम्पियनसिपले कोभिडबाट प्रभावित खेलाडीहरूलाई पुनर्ताजगी बनाउने अपेक्षा गरिएको छ ।

सकारात्मक र स्वस्थ जीवन जिउने उत्प्रेरणाका साथ आयोजना गर्न लागिएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० वर्षमाथिका भेट्रान्स युगल गरी ४ विधामा खुल्ला प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरू, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागीय टिम, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आइरहेका विदेशी खेलाडीहरूलाई पनि सहभागिता गराइने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल ब्याडमिन्टन संघको स्वीकृति तथा प्राविधिक सहयोगमा हुने च्याम्पियनसिपमा २ सयभन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनायो ।

करिब १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शीर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्नेछन् । यस्तै, पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ वर्षमाथिको भेट्रान्स युगलतर्फ शीर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।

च्याम्पियनसिप आयोजना मात्र नभई रिभाइभले विभिन्न राष्ट्रिय ख्यातिप्राप्त खेलाडीहरूमार्फत नवखेलाडीहरूलाई खेलप्रति आकर्षित गर्दै नयाँ खेलाडी उत्पादन गर्ने, विभिन्न लगानीकर्तामार्फत खेल फन्ड स्थापना गरी खेलको विकासका साथै खेलाडीहरूलाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने र खेल अनुसन्धानका रूपमा समेत अगाडि बढाउने सोच रहेको छ ।

करिब १८ करोड लगानीमा लगनखेलमा निर्माण भएको रिभाइभ लिजरपार्क हेल्थ क्लबको कम्पाउन्डभित्र ब्याडमिन्टन हल, जुडो, कराते, उसु हल, स्विमिङपुल, जिम, जुम्बा हल, साउना स्टिम, मसाज थेरापी, सैलुन पार्लरलगायत बी.एन्ड बी. रुम, सेमिनार, पार्टी हलसहित रेस्टुरेन्टसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्