मेड्रिडको पुनरागमन जित



मड्रिड, (एजेन्सी) ।

फरवार्ड करिम बेन्जेमाले उत्कृष्ट प्रदर्शन गर्दा स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा रियल मेड्रिडले पुनरागमन जित निकालेको छ ।

आइतबार राति भएको नयाँ सिजनको चौथो खेलमा रियलले आफ्नो घरेलु मैदानमा पाहुना टोली सेल्टा भिगोलाई ५–२ को फराकिलो गोलअन्तरले हराएको हो । रियलको कमब्याक जितमा फ्रेन्च फरवार्ड बेन्जेमा नायक बने । उनले चार गोलका लागि योगदान गरे । उनले ह्याट्रिक गर्नुका साथै एक गोलमा असिस्ट पनि गरे ।

रियलले आइतबार १८ महिनापछि आफ्नो घरेलु मैदान सान्टियागो बेर्नाबेउमा खेलेको थियो । रंगशाला पुनर्निर्माण गरेकाले पछिल्लो समय रियलको मुख्य रंगशालामा खेल भएको थिएन । रियलको घरमा पाहुना टोली सेल्टाले शुरुआती अग्रता लिएको थियो । खेलको चौथो मिनेटमै सान्टी मिनाले गोल गरेर घरेलु टोलीलाई ठूलो झट्का दिएका थिए ।

तर, खेलको २४औं मिनेटमा बेन्जेमाले गोल गरेर खेल १–१ को बराबरी बनाए । सो गोलमा फेडे भाल्भर्डेले असिस्ट मिलाएका थिए । त्यसपछि, खेलको ३२औं मिनेटमा फेरि सेल्टाले गोल गर्‍यो । यसपटक सेल्टाका लागि फ्रान्को केभ्रीले गोल गरेपछि रियल खेलमा फेरि पछि पर्न गयो ।

तर, त्यसपछि खेल रियलले आफ्नो नियन्त्रण राख्दै लगातार तीन गोल थप्यो । पहिलो हाफको इन्जुरी समयमा बेन्जेमाले नै गोल गरेर पहिलो हाफसम्म खेल २–२ को बराबरी बनाए । त्यसपछि, खेलको ५४औं मिनेटमा भिनिसियस जुनियरले रियलका लागि तेस्रो गोल गरे । उनको गोलमा बेन्जेमा आफैंले असिस्ट गरेका थिए ।

तर, रियल त्यत्तिमै अडिएन । खेलको ७२औं मिनेटमा नयाँ खेलाडी इडुआर्डो कामाभिंगाले गोल गर्न सफल भए । उनले रियलको डेब्यु खेलमै गोल गर्न सफल भए । फ्रान्सका मिडफिल्डर कामाभिंगालाई रियलले यसै समरमा अनुबन्ध गरेको थियो । उनको पहिलो गोलमा लुका मोड्रिचले भूमिका खेलेका थिए ।

त्यसपछि, बेन्जेमाको ह्याट्रिक पूरा गरे । खेलको ८७औं मिनेटमा पाएको पेनाल्टीमा बेन्जेमा आफैंले प्रहार गर्दै ह्याट्रिक गोल पूरा गरेपछि रियलले खेल ५–२ ले जित्यो । यो जितपछि रियल ४ खेलपछि १० अंक जोडेको छ । जारी सिजन शुरू भएयता रियलले तीन खेल जितेको छ भने एक खेल बराबरी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्