लिभरपुलको प्रभावशाली जित



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत नयाँ सिजन २०२१–२२ को चौथो खेलमा लिभरपुलले प्रभावशाली जित निकालेको छ ।
आइतबार राति भएको जारी सिजनको चौथो चरणको खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले हराएको हो । घरेलु टोली लिड्स खेलको ६०औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । डिफेन्डर पास्कल स्ट्रजिकले सोझै रातो कार्ड पाएर मैदान छाडेपछि लिड्स १० खेलाडीमा समेटिएको थियो ।

तर, त्यसअघि नै लिभरपुलले खेलमा दुई गोलको अग्रता बनाएको थियो । पहिलो गोल खेलको २०औं मिनेटमा इजिप्टका फरवार्ड मोहमद सालाहले गरेका थिए । अर्नोल्डको पासमा उनले गरेको उक्त गोल प्रिमियर लिगमा व्यक्तिगत १००औं गोल बन्यो । लिभरपुलका लागि दोस्रो गोल खेलको ५०औं मिनेटमा फाबिन्होले गरे । डीबक्स भित्रबाट रिबाउन्ड बलमा उनले कडा प्रहारमा गोल गरेका थिए । सो गोललाई भीएआरबाट रिभ्यु गरेर मान्यता दिइएको थियो ।

त्यसपछि, लिभरपुलका लागि तेस्रो गोल साडियो मानेले गरे । उनले खेलको ९२औं मिनेटमा डीबक्स भित्रबाट सुन्दर गोल गरेपछि खेल लिभरपुलले ३–० ले जित्यो । यो जितपछि लिभरपुलले सुरुआती चार खेल सकिँदा १० अंक जोडेको छ । लिभरपुलले तीन खेल जितेको छ भने एक खेल बराबरी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्