न्युयोर्क, (एजेन्सी) ।
पूर्वविश्व हेभिवेट च्याम्पियन इभान्डर होलिफिल्डको एक दशकपछि रिंगमा कमब्याक गरेको फाइट उनको लागि निकै निराशाजनक साबित भएको छ ।
सेप्टेम्बर ११, २००१ मा अमेरिकामा भएको आतंककारी हमलाको २०औं वार्षिकअनुसार फाइट आयोजना गरिएको थियो । शनिबार सम्पन्न फाइटमा ५८ वर्षीय होलिफिल्ड पहिलो चरणमै नकआउट हुन पुगे । उनलाई ४४ वर्षीय भिटोर बेल्फोर्टले एक पन्च दिँदा पहिलो चरणबाटै आउट हुन बाध्य बनाएका थिए । उनी पहिलो चरणको फाइट १० सेकेन्ड बाँकी हुँदा रिंगबाट बाहिरिनुपरेको थियो ।
यसअघि, भिटोरसँग ४८ वर्षीय बक्सर ओस्कार डी ला होयाले खेल्ने तय थियो । तर, ओस्कारलाई कोरोनाभाइरस भएपछि उनले नाम फिर्ता लिएका थिए । ओस्कारको स्थानमा होलिफिल्डलाई छनोट गरिएको थियो । तर, ब्राजिलियन बक्सर भिटोरले बायाँ हातबाट दिएको मुक्काबाट होलिफिल्ड भुइँमा पछारियो । उनी झन्डै रिंगबाट बाहिर खस्न लागेका थिए । त्यसलगत्तै रेफरीले टेक्निकली स्टप गर्दै फाइट समाप्त घोषणा गरेका थिए ।
होलिफिल्डले सन् २०११ पछि कुनै फाइट खेलेका थिएनन् । फाइटपछि होलिफिल्डले बताए कि प्रतिद्वन्द्वी बलिया छन् । उनले भिटोरविरुद्ध राम्रो प्रदर्शन गर्ने अपेक्षा लिएका थिएँ । तर, उनी हारका बाबजुद पूर्वप्रतिद्वन्द्वी माइक टाइसनसँग फाइट गर्ने लक्ष्यमा रहेका छन् । उनले भने—‘अवश्य उनी (टाइसन) सँग फाइट गर्नेछु ।’