युभेन्ट्सको खराब प्रदर्शन जारी



रोम, (एजेन्सी) ।

इटालियन सिरी क्लब युभेन्ट्सले खराब प्रदर्शनलाई जारी राखेको छ ।

इटालीको घरेलु सिरी ए लिगमा मासिमिलानो एलेग्रीले दोस्रोपटक कमान्ड सम्हालिरहेको युभेन्ट्स नयाँ सिजनका सुरुआती तीन खेल खेलिसक्दा खराब स्थितिमा पुगेको हो । सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नयाँ सिजनको पहिलो खेल खेलेर क्लब छाडेपछि युभेन्ट्सले त्यसपछिका दुईवटा खेल लगातार हारेको छ । सुरुआती तीन खेल सकिँदा युभेन्ट्स अंक तालिकामा रेलिगेसन जोन नजिक पुगेको छ ।

शनिबार राति सिजनको तेस्रो खेलमा युभेन्ट्सलाई अर्को बलियो टोली नापोलीले स्तब्ध बनायो । आफ्नो घरेलु मैदानमा नापोलीले पछि परेको स्थिति उल्टाएर अन्तिम समयमा जित निकालेको हो । यससँगै युभेन्ट्सले लगातार दोस्रो हार व्यहोरेको छ । यसअघि युभेन्ट्स नयाँ टोली इम्पोलीसँग आफ्नै घरेलु मैदानमा १–० ले हारेको थियो । त्यसपछि अर्को ठूलो खेलमा युभेन्ट्सले अग्रता बचाउन नसक्दा अर्को हार भोग्न बाध्य भयो ।

नापोलीको घरेलु मैदानमा युभेन्टसका लागि खेलको १०औं मिनेटमा स्पेनिस फरवार्ड अल्भारो मोराटाले गोल गरेर अग्रता दिलाएका थिए । सो गोलको अग्रता युभेन्टसले खेलको ५६औं मिनेटसम्म बचायो । तर, ५७औं मिनेटमा घरेलु टोली खेलमा फर्कियो । नापोलीका लागि माटेओ पोलिटानोले गोल गर्दै खेल १–१ को बराबरी बनाए ।

त्यसपछि, नापोलीले खेलको ८५औं मिनेटमा गोल ग¥यो । यसपटक कालिडोउ कोउलीबालीले गोल गरेर घरेलु टोलीलाई कमब्याक अग्रता दिलाए । त्यसपछि पाहुना टोली युभेन्ट्स खेलमा फर्किन सकेन र खेल नापोलीले २–१ ले जित्न सफल भयो । नापोलीले आफ्नो मैदानमा युभेन्ट्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो ।

यो जितपछि नापोलीले यो सिजनका तीनवटै खेल जितेको छ । यता, पराजित युभेन्ट्सले खेलेका तीन खेलमध्ये पहिलो खेल बराबरी गर्दा दुई खेल लगातार हारेको छ । युभेन्ट्सले तीन खेलबाट मात्रै एक अंक जोडेको छ । भर्खर लिग शुरू भएकाले युभेन्ट्सलाई कमब्याक गर्न अझै प्रशस्तै समय छ ।

प्रतिक्रिया दिनुहोस्