पीएसजीको सहज जित



पेरिस, (एजेन्सी।) 

फ्रेन्च लिग वान फुटबलमा पिएसजीले सहज जित निकालेको छ ।

शनिबार राति भएको नयाँ सिजनको पाँचौं खेलमा पिएसजीले पाहुना टोली क्लेरमोन्ट फुटलाई ४–० गोलअन्तरले सहजै हराएको हो । क्लेरमोन्ट यसै सिजन मात्रै लिग वानमा बढुवा भएको टिम हो । पीएसजीले आफ्नो घरेलु मैदानमा खेल्दा सुपरस्टारद्वय लिओनल मेसी र नेयमार भने टोलीमै थिएनन् ।

नेयमार र मेसी बिना पनि पिएसजीले घरेलु मैदानमा फराकिलो जित निकाल्न सफल भयो । पिएसजीको जितमा एन्डर हरेराले दुई गोल गरेर टिमलाई सघाए । राष्ट्रिय टोलीमा कुनै खेल खेलेको ४८ घन्टा नकटी अर्को म्याच खेल्न नपाइने नियमले गर्दा नेयमार र मेसीले पिएसजीको खेलमा सहभागी हुन पाएनन् ।

पिएसजीका लागि सुरुआती दुईवटै गोल हरेराले गरे । उनले २०औं र ३१औं मिनेटमा गोल गरेका थिए । त्यसपछि ५५औं मिनेटमा युवा स्टार किलियन एमबाप्पेले गोल गरेर अग्रता बढाउँदा ६५औं मिनेटमा इड्रिसा गुएईले गोल गरेपछि खेल पिएसजीले ४–० ले जित्यो ।

यो जितपछि पिएसजी नयाँ सिजनका पाँचवटै खेलमा शतप्रतिशत जित निकालेर कुल १५ अंकका साथ शीर्ष स्थानमा रहेको छ । चार खेल खेलेको एन्जर्स १० अंकका साथ दोस्रो स्थानमा रहेको छ । पीएसजीसँग पराजित क्लेरमोन्ट ८ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्