बायर्नको सानदार जित



बर्लिन, (एजेन्सी) । 

जर्मन बुन्डेसलिगा फुटबलमा बार्यन म्युनिखले बलियो टोली आरबी लेइप्जिगमाथि सानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्यनले लेइप्जिगलाई उसैको घरेलु मैदानमा ४–१ गोल अन्तरले स्तब्ध बनायो । बार्यनका लागि ४ जना फरक–फरक खेलाडीले गोल गरेका थिए । पहिलो गोल खेलको १२औं मिनेटमा स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत् गरेका थिए । पोलिस फरवार्डका लागि यो नयाँ सिजनको ११औं गोल थियो । उनले यो सिजनमा मात्रै ७ खेलबाट ११ गोल र ६ असिस्ट गरिसकेका छन् । साथै, उनले बार्यनका पछिल्ला १५ खेलमा लगातार गोल गर्न पनि सफल भएका छन् । उनको करिअरमा यो सबैभन्दा लामो गोलको यात्रा हो ।

बायर्नका लागि दोस्रो गोल खेलको ४७औं मिनेटमा युवा खेलाडी जमल मुसियालाले गरे भने तेस्रो गोल ५४औं मिनेटमा लिरोए सानेले गरेका थिए । खेलको ५८औं मिनेटमा लेइप्जिगका लागि कोनर्ड लाइमेरले गोल गरेर खेल ३–१ बनाएका थिए । तर, ९१औं मिनेटमा बार्यनका लागि इरिक मोटिङले अर्को गोल थपेपछि खेल बार्यनले ४–१ ले जित्यो । यो जितसँगै बार्यन यो सिजन ४ खेल सकिँदा १० अंक बनाएको छ । बायर्न जारी सिजनमा अपराजित नै रहेको छ ।

त्यस्तै, बोरुसिया डर्टमन्डले पनि रोमाञ्चक जित निकाल्यो । शनिबार राति भएको नयाँ सिजनको चौथो खेलमा डर्टमन्डले अर्को बलियो टोली बायर लेभरकुसेनलाई उसैको घरेलु मैदानमा ४–३ गोल अन्तरले पराजित गरेको हो । अवे मैदानमा डर्टमन्डलाई जिताउन युवा स्टार अर्लिङ हल्यान्डले दुई गोल गरेका थिए ।

लेभरकुसेनले खेलको नवौं मिनेटमै फलोरिएन विरट्जको गोलबाट अग्रता लिएको थियो । तर, खेलको ३७औं मिनेटमा हल्यान्डले गोल गरेर खेल १–१ बनाए । तर, पहिलो हाफको इन्जुरी समयमा लेभरकुसेनका लागि प्याट्रिक सिकले गोल गरेर टिमलाई पहिलो हाफमा २–१ को अग्रता दिलाएका थिए ।

त्यसपछि, दोस्रो हाफ शुरू भएपछि ४९औं मिनेटमा डर्टमन्डका लागि जुलियन ब्रान्डटले गोल गरेर खेल २–२ बनाए । तर, ५५औं मिनेटमै लेभरकुसेनका लागि मोउसा डायबीले गोल गरेर खेल ३–२ बनाएका थिए । तर, त्यसपछि पाहुना टोली डर्टमन्ड खेलमा हावी भयो ।

खेलको ७१औं मिनेटमा डिफेन्डर राफाएल गुरेरियोले गोल गरेर डर्टमन्डलाई ३–३ को बराबरीमा फर्काए । बराबरी गोलपछि डर्टमन्डले खेलको ७७औं मिनेटमा पेनाल्टी पायो, जसमा हल्यान्डले प्रहार गर्दै गोल गर्न सफल भए । त्यसपछि, थप गोल भएन र खेल डर्टमन्डले ४–३ ले जित्यो । यो जितपछि डर्टमन्ड ४ खेलबाट ९ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्