पारा ओलम्पियन पलेशा सम्मानित



नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पाराओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई शनिबार १० हजार नगदसहित सम्मान गरेको छ ।

सोही अवसरमा नेपाली पाराओलम्पिक टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जन, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतले उनीहरूलाई सम्मान गरे । त्यसै अवसरमा तेक्वान्दो संघका उपाध्यक्ष महर्जनले व्यक्तिगत रूपमा पलेशालाई नगद १ लाखसहित सम्मान गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा काठमाडौं जिल्ला तेक्वान्दो संघमा मनोनित उपाध्यक्ष राजेन्द्र पुजारी, सह–सचिव मनोजकुमार शाह तथा सदस्य घनश्याम कार्की, सानुबाबु महर्जन, दशरत्न शाही र लालबहादुर मगरलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको थियो ।

हालै सम्पन्न १०औं कोरियन एम्बेसडर भर्चुअल राष्ट्रिय पुम्से प्रतियोगिताको आ–आफ्नो विधामा उत्कृष्ट घोषित काठमाडौंका खेलाडी मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङ र मधुसूदन सापकोटा, कोटेश्वर तेक्वान्दो डोजाङकी सन्ध्या लामा तथा स्युचाटार तेक्वान्दो डोजाङका राम गोले र लक्ष्मण गोलेलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । ललितपुर र भक्तपुर जिल्ला तेक्वान्दो संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरू पनि सोही अवसरमा सम्मानित भए ।

प्रतिक्रिया दिनुहोस्