पूर्वराष्ट्रपति ट्रम्पले कमेन्ट्री गर्ने



न्युयोर्क, (एजेन्सी) ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बक्सिङको एक प्रदर्शनी प्रतिस्पर्धामा कमेन्ट्री गर्ने भएका छन् ।

उक्त कमेन्ट्रीमा ट्रम्पका छोरा डोनाल्ड जुनियर पनि हुनेछन् । फ्लोरिडास्थित हालीवुडमा हुन लागेको उक्त प्रतिस्पर्धा एफआईटीई डट टिभीमा उपलब्ध हुने पनि जनाएको छ । उक्त प्रतिस्पर्धामा पूर्व हेभिवेट च्याम्पियन इभान्डर होलिफिल्डले भाग लिनेछन् । उनको सामना यूएफसी लाइट हेभिवेट च्याम्पियन भिटोर बेल्फोर्टसँग हुनेछ ।

पूर्वराष्ट्रपति ट्रम्पले बताए कि उनलाई महान् फाइटर र फाइट मनपर्छ । यसपटक आउँदो शनिबार यस्तै एक प्रतिस्पर्धाको भागिदार हुने र आफ्नो मनको कुरा राख्न पाउने भएपछि यस्तो अवसर खेर फाल्न नहुने उनले बताएका थिए । यसअघि, यो प्रतिस्पर्धा लसएन्जल्समा हुने तय भएको थियो ।

यो प्रतिस्पर्धा २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंक हमला भएको २० औं वर्ष भएको अवसरमा आयोजना हुन लागेको हो । तर, सोही दिन अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र वर्तमान राष्ट्रपति जोए बाइडेन आतंक हमला भएको तीन स्थान न्युयोर्क सिटी, पेनसिल्भानिया र भर्जिनियामा भ्रमण गर्नेछन् । पूर्वराष्ट्रपति ट्रम्प भने खेलसँग आबद्ध हुनेको अमेरिकामा चर्चा भइरहेको छ ।

उक्त प्रतिस्पर्धामा पहिले ओस्कार डे ला होयाले बेलफोर्टको सामना गर्नुपर्ने थियो । तर, ओस्कारलाई कोरोना संक्रमित भएपछि उनले नाम फिर्ता लिएका थिए । उनको स्थानमा होलिफिल्डलाई सामेल गराएको हो । ५९ वर्षीय होलिफिल्ड सन् २०११ पछि रिंगमा फर्कन लागेका हुन् । उनका प्रतिद्वन्द्वी बेल्फोर्ट ४४ वर्षका हुन् ।

प्रतिक्रिया दिनुहोस्