जोकोभिच सेमिफाइनलमा प्रवेश



वासिङ्टन, (एजेन्सी) ।

विश्व नम्बर एक नोभाक जोकोभिच युएस ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको क्वार्टरफाइनलमा जोकोभिचले माटियो बेरेन्टनीलाई ५–७, ६–२, ६–२ र ६–३ को सेटमा पराजित गरे । जोकोभिचले सेमिफाइनलमा टोकियो ओलम्पिक २०२० का च्याम्पियन एलेक्जेन्डर जेभरेवसँग प्रतिस्पर्धा गर्नेछन् । जेभरेवले जोकोभिचलाई टोकियो ओलम्पिकको सेमिफाइनलमा हराएका थिए ।

जोकोभिच एकै वर्ष चारवटै ग्रान्डस्लाम जित्ने अभियानमा छन् । जोकोभिचले यस वर्ष अस्ट्रेलियन ओपन, फेन्च ओपन, र विम्बल्डन जितिसकेका छन् । युएस ओपनको उपाधि जितेमा जोकोभिचले रड लाभारको एकै वर्ष चार वटै ग्रान्डस्लाम जित्ने कीर्तिमानसँग बराबरी गर्नेछन् । लाभरले सन् १९६९ मा एकै वर्ष ४ वटै ग्रान्डस्लाम जितेका थिए । यसअघि, जोकोभिच सन् २०१६ मा युएस ओपन, फेन्च ओपन र अस्ट्रेलियन ओपनको उपाधि जिते पनि विम्बल्डनमा निराश भएपछि लाभरको कीर्तिमानको संघारमा पुगे पनि निराश भएका थिए ।

त्यसैगरी, टोकियो ओलम्पिक २०२० का च्याम्पियन एलेक्जेन्डर जेभरेवले पनि युएस ओपनको सेमिफाइनलमा प्रवेश पाउन लड ह्यारिसलाई पराजित गरेका थिए । बिहीबार भएको खेलमा जेभरेवले दक्षिण अफ्रिकाका ह्यारिसलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । क्वार्टरफाइनलमा चौथो वरियताका जेभरेवले ७–६ (८/६), ६–३, ६–४ को जित हात पारे ।

सेमिफाइनमा उनको भेट नोभाक जोकोभिचसँग हुनेछ । उनी लगातार दोस्रोपटक युएस ओपनको सेमिफाइनल प्रवेश गरेका हुन् । गत वर्ष फाइनल प्रवेश गरे पनि डोमिनिक थिइमलाई नतिजा सुम्पिएपछि उनी उपविजेतामा सीमित भएका थिए ।

त्यसैगरी, मारिया सक्कारी र इमा राडुकानुले पनि युएस ओपनको सेमिफाइनलमा भिड्ने भएका छन् । बिहीबार भएको क्वार्टरफाइनलमा सक्कारीले कारोलिना प्लिस्कोभालाई सोझो सेटमा हराउँदै राडुकानुसँगको सेमिफाइनलमा भेट पक्का गरेकी हुन् ।

सक्कारीले प्लिस्कोभामाथि ६–४ ६–४ को सहज जित हात पारेकी हुन् । यससँगै युएस ओपनको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । यसअघि, क्यानडाकी लेला फर्नान्डेज, आर्यना साबलेन्का र राडुकानु सेमिफाइनल प्रवेश गरिसकेका छन् । पहिलो सेमिफाइनल फर्नान्डेज र साबलेन्काबीच हुनेछ भने दोस्रो सेमिफाइनलमा सक्कारी र राडुकानु भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्