इटाली ३७ खेलमा अपराजित



लन्डन, (एजेन्सी) ।

इटाली ३७ वटा अन्तर्राष्ट्रिय फुटबल म्याचमा अपराजित बन्ने पहिलो राष्ट्रिय टोली बनेको छ ।

फिफा विश्वकप छनोटअन्तर्गत बुधबार राति सम्पन्न खेलमा इटालीले लिथुवानियालाई पराजित गर्दै ३७ खेलमा अपराजित बन्ने पहिलो राष्ट्रको कीर्तिमान बनाउन सफल भएको छ । यसअघि, आइतबार स्विजरल्यान्डसँग गोलरहित बराबरी खेलेसँगै इटालीले ३६ खेलमा अपराजित रहँदै कीर्तिमान आफ्नो नाममा गरेको थियो ।

जसमा स्पेनको ३५ खेलको अपराजित यात्रा (२००७–०९) लाई पछि पारेको थियो भने ब्राजिलको ३६ खेलको अपराजित यात्रा (१९९३–९६) सँग कीर्तिमान बराबरी गरेको थियो । ब्राजिलको अपराजित यात्रा ३५ या ३६ भन्ने विवादित रहेको छ । ब्राजिलले ३६ खेलमा अपराजित यात्राको दाबी गरिरहँदा रोमानियाको बी टिमसँग एउटा म्याच खेलेको भनेर फिफाले त्यो खेललाई मान्यता दिन अस्वीकार गरेको छ । सन् २०१८ को अक्टोबरमा युक्रेनसँग मैत्रीपूर्ण खेलमा बराबरी खेलेयता इटली अपराजित छ ।

विश्वकपका लागि युरोपियन छनोटअन्तर्गत बुधबार भएको समूह ‘सी’ को खेलमा घरेलु टोली इटालीले लिथुवानियामाथि ५–० को फराकिलो जित निकालेको हो । युरोपियन च्याम्पियन इटालीले खेलको ११औं मिनेटमै मोइस किनको गोलमा अग्रता बनाएको थियो । खेलको १४औं मिनेटमा लिथुवानियाका इडगारस उट्कुसले आत्मघाती गोल गर्दा दोस्रो गोल उपहारमा पाएको इटालीका लागि तेस्रो गोल २४औं मिनेटमा जियाकोमो रासपाडोरीले गरे । त्यस्तै, किनले २९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा इटाली पहिलो हाफमा चार गोलले अघि रह्यो । त्यस्तै, दोस्रो हाफमा जियोभानी डी लोरेन्जोले गोल गरे । उनले खेलको ५४औं मिनेटमा गोल गर्दा इटाली ५–० को जित निकाल्न सफल भयो । जितसँगै इटालीले समूहमा ६ खेलबाट १४ अंक जोडेको छ ।

फिफा विश्वकप फुटबल छनोटअन्तर्गत नै भएको अर्को खेलमा पोल्यान्ड आफ्नो घरेलु मैदानमा हारबाट मुस्किलले जोगियो । बुधबार राति भएको उक्त खेलमा पाहुना टोली इंग्ल्यान्डविरुद्ध भएको खेलमा पोल्यान्डले अन्तिम समयमा गोल गर्दै घरेलु मैदानमा हार पन्छाएको हो ।
रोबर्ट लेवान्डोस्कीको पोल्यान्ड र ह्यारी केनको इंग्ल्यान्ड बीचको खेल धेरैका लागि प्रतिक्षाको खेल थियो । चर्को प्रतिस्पर्धा भएको खेलमा केनको टिम इंग्ल्यान्ड जितको मुखैमा पुगेको थियो । तर, इन्जुरी समयमा घरेलु टोलीले गोल गर्दै हजारौं समर्थकमाझ हार पन्छाउन सफल भयो ।

खेलमा ७१औं मिनेटसम्म दुवै तर्फबाट कुनै पनि गोल भएको थिएन । तर, ७२औं मिनेटमा ह्यारी केनले गोल गर्दै घरेलु टोलीविरुद्ध इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । इंग्ल्यान्ड सोही गोलको मद्दतमा जितको नजिकै पुगेको थियो । तर, अन्तिम समयमा इंग्ल्यान्डले गोल बेहोर्‍यो । इन्जुरी समय ९२औं मिनेटमा पोल्यान्डका लागि डामिएन सेजमान्स्कीले गोल गरेर खेल बराबरी बनाए ।

पोल्यान्डको बराबरी गोलमा रोबर्ट लेवान्डोस्कीले महत्वपूर्ण असिस्ट गरेका थिए । उनले गोल गर्न नसके पनि टिमलाई हारबाट बचाउन महत्वपूर्ण गोलका लागि शानदार असिस्ट भने दिलाए । बराबरी गोलको खोजीमा रहेका बेला रोबर्ट लेवान्डोस्कीले तल्लो भागबाट उचाइमा दिएको पासमा डामिएनले हेडिङमार्फत् बललाई जाली चुमाएपछि खेल १–१ मा सकियो ।

त्यस्तै, अर्को खेलमा बेल्जियमले पनि बेलारुसमाथि १–० को साँघुरो जित निकाल्यो । यस खेलमा बेल्जियमको टोलीमा अधिकांश युवा र दोस्रो रोजाइका खेलाडीलई खेलाइएको थियो । बेलारुसलाई घरेलु मैदानमा हराउन बेल्जियमका लागि एक मात्रै गोल खेलको ३३औं मिनेटमा डेनिस प्रेटले गरेका थिए । यो जितपछि बेल्जियमको ६ खेलबाट १६ अंक भएको छ ।

त्यसैगरी, जर्मनीले पनि शानदार जित निकाल्यो । बुधबार राति भएको विश्वकप छनोट चरणको आफ्नो छैटौं खेलमा जर्मनीले आइसल्यान्डलाई उसैको घरेलु मैदानमा ४–० को गोलअन्तरले पराजित ग¥यो । जर्मनीको यो लगातार दोस्रो फराकिलो जित हो । यसअघिको खेलमा जर्मनीले आफ्नो मैदानमा अर्मेनियालाई ६–० ले हराएको थियो ।

अवे मैदानमा जर्मनीलाई जित दिलाउन चार जना फरक–फरक खेलाडीले गोल गरे । यस खेलमा लिरोए सानेले एक गोल गरे भने एक गोलमा असिस्ट गरे । त्यस्तै, जोसु किमिक, लियोन गोरेट्जा काई हार्भट्जले पनि असिस्ट गरे । पाहुना टोलीका लागि खेलको चौथो मिनेटमै सर्जी गेनाब्रीले गोल गरेर टिमलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो गोल खेलको २४औं मिनेटमा एन्टोनियो रुडिगारले गरेर अग्रता बनाएका थिए ।

दोस्रो हाफमा जर्मनीले थप दुई गोल थप्यो । खेलको ५६औं मिनेटमा लिरोए सानेले गोल गरेर खेल ३–० बनाए भने ८८औं मिनेटमा युवा स्टार टिमो वार्नरले अर्को गोल थपेपछि खेल जर्मनीले ४–० ले जित्यो । यो जितपछि समूह ‘जे’ मा जर्मनीको ६ खेलपछि १५ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्