बंगलादेशविरुद्ध नेपालको जित



नेपाल समाचारपत्र, काठमाडौं ।

आगामी एएफसी कप छनोटको लागि तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशविरुद्ध जित हात पारेको छ ।

दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिजअन्तर्गत बिहीबार दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको हो । नेपालको जितमा सविता रानामगर र मिडफिल्डर प्रीति राईले गोल गरेका हुन् । डेब्युमै गोल गरेका उनीहरूले नेपाली टोलीलाई पहिलो हाफमै २–० को अग्रता दिलाएका हुन् । तर, दोस्रो हाफमा भने बंगलादेशले एक गोल फर्काएपछि नेपालले २–१ को जित निकाल्यो ।

खेलको १३औं मिनेटमा सविताले हेडमार्फत् गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । विमला चौधरीको क्रसमा सविताले बंगलादेशकी गोलरक्षक रुप्ना चक्मा र डिफेन्डरलाई बिट गर्दै गोल गरेकी थिइन् । २३औं मिनेटमा प्रीतिले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेकी थिइन् । सरु लिम्बूले दिएको पासमा प्रीतिले विपक्षीकी डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाहिरबाट बंगाली गोलरक्षक अघि बढेको अवस्थामा सहजै गोल गरेकी थिइन् ।

पाहुना टोली बंगलादेशले ८३औं मिनेटमा एक गोल फर्काएर गोलअन्तर खुम्चाएको थियो । थोउरा खातुनले मैदान प्रवेश गरेको पहिलो मिनेटमै गोल गर्दै २–१ को अवस्थामा ल्याएकी थिइन् । तर, यसपछि कुनै गोल नभएपछि नेपालले सो खेल जित्स सफल भयो । दोस्रो मैत्रीपूर्ण खेल आइतबार साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप २०२२ छनोट अघि नेपाल र बंगलादेशले दुई मैत्रीपूर्ण खेल खेलेको हो । नेपाली महिला टोलीले सन् २०२२ मा भारतमा हुने एसियन कपको छनोटका लागि उज्वेकिस्तानमा दुई खेल खेल्नेछ । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्