नेपाली महिला टोलीले आज बंगलादेशसँग खेल्दै



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

दुई खेलको सिरिजअन्तर्गत उक्त खेलका लागि तयार रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताए । बुधबार आयोजित प्री म्याच कन्फ्रेन्समा फिलिप्सले यो सिरिज आगामी एएफसी छनोटका लागि अवसरको रूपमा रहेको बताए । उनले बताए—‘यो मैत्री खेल हाम्रा लागि एएफसी छनोटका लागि अवसरको रूपमा हुनेछ । केही खेलाडी चोटग्रस्ट छन् यसको बाबजुद हामी खेल्न तयार छौं । सावित्रा नभए पनि टोली बलियो छ र सबैले राम्रो प्रदर्शन गर्ने अपेक्षामा छु ।

प्रशिक्षक फिलिप्सले सरू लिम्बूको उपस्थितिले टोलीलाई टेवा मिल्ने पनि बताए । उनले भने—सरू विशेष खेलाडी हुन् । उनी सधौं बलको वरिपरि रहने खेलाडी हुन् । हामीले स्वतन्त्ररूपमा खेल्न दिनेछौं, यसले खेलाडीले आफ्नो तरिकाले खेल्न सक्छन् । उनको प्रभाव आक्रमणमा हुनेछ र डिफेन्समा पनि आशा गरिरहेका छौँ ।

यस्तै, विपक्षी टोली बंगलादेशको राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक गोलमा रोबानी छोटोले नेपालविरुद्ध कुनै दबाब नरहेको बताए । छोटोले नेपालको टोलीमा गोल मेसिनले परिचित सावित्रा नहुने हुँदा उनीहरूलाई राहत महसुस हुने पनि बताए । उनले भने—सावित्रा भण्डारी दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन् । उनी खेलमा नहुनु दुःखद् कुरा हो तर, हाम्रा डिफेन्डरका लागि सावित्रा नहुँदा भने केही राहत महसुस हुनेछ ।

नेपाली महिला टोलीले आगामी एएफसी कप २०२२ छनोटका लागि बंगलादेससँग दुई मैत्री खेल खेल्न लागेको हो । दोस्रो खेल आइतबार हुनेछ । दशरथ रंगशालामा हुने दुवै खेल साँझ ५ बजे हुने जनाएको छ । यो सिरिज सकिएपछि नेपाली महिला टोलीले आगामी सन् २०२२ मा भारतमा हुने एसियन कप छनोटका लागि उज्वेकिस्तानमा दुई खेल खेल्नेछ । जसमा फिलिपिन्स र हङकङसँग खेल्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्