पोल्यान्डद्वारा सान मारिनोमाथि गोलको वर्षा



लन्डन, (एजेन्सी) ।

विश्वकप छनोट खेलअन्तर्गत युरोपियन क्षेत्रको खेलमा पोल्यान्डले आफ्नो समूहको पाँचौं खेलमा गोलको वर्षा गरेको छ ।

आइतबार राति सम्पन्न खेलमा पोल्यान्डले तुलनात्मक रूपमा कमजोर टिम सान मारिनोलाई उसैको घरेलु मैदानमा ७–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । पोल्यान्डका लागि समग्रमा चार जना खेलाडीले ७ गोल गरेका थिए ।

अवे मैदानमा पोल्यान्डको जितमा अडाम बुक्साले ह्याट्रिक गरे भने स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्नुका साथै दुई गोलमा असिस्ट गरे । यसअघिको खेलमा पनि उनले एक गोल र एक असिस्ट गरेका थिए ।

पोल्यान्डका लागि लेवान्डोस्कीले खेलको चौथो मिनेटमा पहिलो गोल गरे भने २१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । त्यस्तै, १६औं मिनेटमा कारोल स्विडरस्कीले गोल गरे भने ४४औं मिनेटमा कारोल लिन्टेले गोल गरेका थिए । ह्याट्रिककर्ता बुकासले ६७औं, ९२औं र ९४औं मिनेटमा गोल गरेका थिए । यता, सान मारिनोका लागि ४८औं मिनेटमा निकोला नानीले गोल फर्काएका थिए । यो जितपछि समूह ‘आई’ मा रहेको पोल्यान्डको १० अंक भएको छ ।

आइतबार राति नै भएको यसै समूहको अर्को खेलमा इंग्ल्यान्डले पनि प्रभावशाली जित निकाल्यो । इंग्लिस टिमले घरेलु मैदानमा पाहुना टोली एन्डोरालाई ४–० ले हरायो । घरेलु टोलीलाई शानदार जित दिलाउन दुई जना खेलाडी नायक बने । जेस लिन्गार्डले दुई गोल गरे भने युवा खेलाडी बुकायो शाकाले दुई गोलमा असिस्ट गर्दै एक गोल आफ्नो नाममा लेखाए । दोस्रो हाफमा बेन्चबाट मैदान छिरेका कप्तान ह्यारी केनले पनि एक गोलको योगदान गरे ।

इंग्ल्यान्डका लागि पहिलो गोल १८औं मिनेटमा लिन्गार्डले गरेका थिए । त्यस्तै, ७२औं मिनेटमा केनले पेनाल्टीमार्फत् दोस्रो गोल गरे । त्यसपछि ७८औं मिनेटमा लिन्गार्डले व्यक्तिगत दोस्रो गोल गरे भने ८५औं मिनेमा बुकायो शाकाले गोल गरेपछि खेल इंग्ल्यान्डले ४–० ले जित्यो । यो जितपछि इंग्ल्यान्डले ५ खेलबाट १५ अंक बनाएको छ ।

विश्वकप फुटबलका लागि भएको छनोट खेलमा स्पेनले पनि शानदार जित निकाल्यो । आइतबार राति भएको छनोट चरणको आफ्नो पाँचौं खेलमा स्पेनले आफ्नो घरेलु मैदानमा जर्जियामाथि ४–० को एकपक्षीय जित निकालेको हो । स्पेनको जितमा चार जना फरक–फरक खेलाडीले गोल गरे । खेलको १४औं मिनेटमा जोसे गयाले गोल गरेर शुरुआती अग्रता दिलाएका थिए । त्यसपछि, २५औं मिनेटमा कार्लो सोलेरले गोल गरेर अग्रता दोब्बर बनाए । त्यस्तै, ४१औं मिनेटमा युवा स्टार फेर्रान टोरेजले गोल गरेपछि स्पेनले पहिलो हाफमै ३–० को सहज अग्रता बनायो ।

स्पेन त्यत्तिमै अडिएन । खेलको ६३औं मिनेटमा पाब्लो सराबियाले अर्को गोल थपे । त्यसपछि, खेलभरिमा दुवै पक्षबाट थप गोल नभएपछि खेल स्पेनले ४–० ले जित्यो । यो जितपछि स्पेनले समूह ‘बी’ मा ५ खेलबाट २० अंक बनाएको छ ।

जर्मनीद्वारा पनि गोल वर्षा

यस्तै, जर्मनीले पनि गोलको वर्षा गर्दै जित निकाल्यो । आइतबार राति भएको छनोट चरणको पाँचौं खेलमा जर्मनीले पनि आफ्नो घरेलु मैदानमा अर्मेनियामाथि ६–० को फराकिलो गोलअन्तरको जित निकालेको हो । आफ्नो भूमिमा जर्मनीलाई सानदार जित दिलाउने क्रममा ५ जना खेलाडीले गोल गरेका थिए । सर्जी गेनाब्रीले दुई गोल गरे भने लियोन गोरेट्जाले दुई गोलमा असिस्ट गरे । युवा खेलाडी टिमो वार्नरले एक गोल र एक गोलमा असिस्ट प्रदान गरे । गेनाब्रीले पहिलो गोल छैटौं मिनेटमा गरेका थिए । दोस्रो गोल उनैले नै १५औं मिनेटमा गर्दै अग्रता दोब्बर बनाए ।

त्यसपछि, ३५औं मिनेटमा मार्को रेउसले गोल गरे भने ४४औं मिनेटमा वार्नरले गोल गरे । ५२औं मिनेटमा जोनस हफमानले गोल गरे भने ९१औं मिनेटमा करिम एडेमीले गोल गरेपछि खेल जर्मनीले ६–० ले जित्यो । यो जितपछि जर्मनीको समूह ‘जे’ मा ५ खेलपछि १२ अंक पुगेको छ ।

त्यसैगरी, बेल्जियमले पनि छनोट खेलमा सानदार जित निकाल्यो । मंगलबार राति भएको आफ्नो समूहको पाँचौं खेलमा बेल्जियमले आफ्नो घरेलु मैदानमा पाहुना टोली चेक रिपब्लिकमाथि ३–० को प्रभावशाली जित निकालेको हो । बेल्जियमको जितमा कप्तान इडेन हाजार्डले लामो समयपछि गोल गरे भने रोमेलु लुकालुले एक गोल र एक असिस्ट गरे । त्यस्तै, ह्यान्स भानाकेनले दुई गोलमा असिस्ट गरे । पहिलो गोल खेलको आठौं मिनेटमै लुकाकुले भानाकेनको पासमा गरेका थिए । त्यसपछि, दोस्रो गोल ४१औं मिनेटमा हाजार्डले गरे । उनको गोलमा पनि भानाकेनले नै असिस्ट गरेका थिए ।

खेलको ६५औं मिनेटमा एलेक्सिस सालेमर्कसले गोल गरेपछि बेल्जियम सहज जिततर्फ अघि बढेको थियो । त्यसपछि, बाँकी समयमा दुवै तर्फबाट थप गोल भएन र खेल बेल्जियमले ३–० ले जित्यो । यो जितपछि बेल्जियमको ५ खेलबाट १३ अंक पुगेको छ । जारी छनोटमा बेल्जियम अहिलेसम्म अपराजित टोली समेत हो । बेल्जियमसँग पराजित चेकको भने ७ अंक रहेको छ ।

इटालीको दुर्लभ रेकर्ड

युरो कप फुटबल २०२० को उपाधि च्याम्पियन इटालीले पनि विश्व फुटबलमा दुर्लभ रेकर्ड बनाएको छ । इटालीले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको हो । आइतबार राति विश्वकप छनोटअन्तर्गत स्विट्जरल्यान्डविरुद्धको खेलमा बराबरी खेलेपछि इटालीका नाममा दुर्लभ कीर्तिमान बनेको हो । स्विट्जरल्यान्डको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

त्यससँगै इटालीले ब्राजिल र स्पेनका नाममा रहेको सबैभन्दा लामो ३५ खेलेको अपराजित यात्राको रेकर्ड भंग गरेको छ । यसअघि, यो रेकर्ड संयुक्तरूपमा स्पेन र ब्राजिलको नाममा थियो । आइतबार रातिको खेलमा पनि इटाली नहारेपछि कुल अपराजित खेल संख्या ३६ पुगेको हो । यसअघि, पाँचपटकको विश्वकप विजेता ब्राजिलले सन् १९९३ देखि १९९६ सम्म लगातार ३५ खेलमा अपराजित रहेर रेकर्ड बनाएको थियो । त्यसैगरी, स्पेनले पनि सन् २००७ देखि २००९ सम्म लगातार ३५ खेलम्म अपराजित रहेर रेकर्ड बनाएको थियो ।

इटाली अहिले प्रशिक्षक रोबर्टो मान्चिनीको कमान्डमा छ । उनले टोली सम्हाल्न थालेयता इटाली दुई खेलमा मात्र हारेको छ । मान्चिनी सन् २०१८ मा इटालीको प्रशिक्षकमा नियुक्त भएका थिए । इटालीले पछिल्लोपटक हारेको सन् २०१८ को सेप्टेम्बर १० मा हो । त्यसपछि, नेसन्स लिगमा भएको खेलमा इटाली पोर्चुगलसँग १–० ले पराजित भएको थियो । त्यसयता इटाली अहिलेसम्म हारेको छैन । सो हारयता इटालीले कुल ३६ म्याच खेल्दा २९ खेलमा स्पष्ट जित हात पारेको छ भने सात खेल बराबरी गरेको छ । यसअघि, युरो कपमा पनि इटालीले लगातार अपराजित हुँदै उपाधि जितेको थियो ।

इटालीले यसअघि युरो कपमा आफैंले बनाएको ८२ वर्ष पुरानो ३० खेलको अपराजित यात्राको रेकर्ड लम्ब्याएको थियो । युरो कपको अन्तिम १६ मा अस्ट्रियालाई २–१ ले हराएर इटालीले आफैंले बनाएको ८२ वर्ष पुरानो ३० खेलको अपराजित यात्राको रेकर्ड भंग गरेर ३१औं खेलमा पुर्‍याएको थियो । विश्वकप छनोटअन्तर्गत आइतबार रातिको बराबरीपछि समूह ‘सी’ मा रहेको इटालीको अब ५ खेलबाट कुल ११ अंक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्