पूरा हुँदै पिप्ले रंगशाला



हेटौंडा, (नेस) ।

हेटौंडा उपमहानगरपालिका–५ को क्याम्पाडाँडामा रंगशाला निर्माण गरिएको छ । पिप्ले युवा क्लबको अगुवाइ र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा रंगशाला निर्माण गरिएको हो ।

रंगशालामा निर्माण गर्न विभिन्न सहयोगीले सहयोग गरिरहेका छन् । मकवानपुर जिल्लामा विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा प्रशिक्षक उत्पादन हुँदै आए पनि रंगशाला अभाव थियो ।

यसलाई मध्यनजर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन र खेलाडीलाई दैनिक प्रशिक्षणका लागि व्यस्थित स्थान बनाइएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । करिब दुई करोेड लगानीमा प्रदेशको राजधानी हेटौंडामा रंगशाला निर्माण भएको हुँदा नमुना खेलमैदान निर्माण गर्ने योजना पूरा भएको उपमहानगर मेयर हरिबहादुर महतले बताए ।

रंगशाला निर्माण गर्न हेटौंडा–५ का अध्यक्ष राजेश बानियाँ र अन्य वडाले ट्र्याक निर्माणका लागि ११ लाख सहयोग गरेको पिप्ले युवा क्लब अध्यक्ष सुविन घिमिरे जानकारी दिए । ट्र्याक निर्माणको काम सकिएको हुँदा प्रतियोगिता गरेर यसको उद्घाटन गरिने अध्यक्ष घिमिरेले बताए ।

हेटौंडा उपमहानगरपालिकाबाट ४५ लाख उपलब्ध भएको, थप बजेट ३५ लाख प्राप्त हुने र अन्य काम गर्न चन्दा संकलन गरेर निर्माण गरिने उनले बताए । मकवानपुर जिल्ला फुटबल संघ, प्रदेश खेलकुद परिषद्बाट सहयोगको आश्वासन दिइएको उनले बताए । उनले पिप्ले युवा क्लबले खेलाडी उत्पादन गरेर जिल्लामार्फत राष्ट्रमा पठाउने काम गरिरहेको बताए । करिब पाँच बिघा क्षेत्रफल जग्गामा करिब १० हजार दर्शक अटाउने गरी रंगशाला निर्माण गरिएको वडा अध्यक्ष बानियाँले बताए ।

वडामा रंगशाला बन्नु गौरवको विषय भएको बताउँदै बानियाँले सम्पूर्ण वडाको केन्द्रमा पर्ने भएकाले क्याम्पाको खाली जग्गामा रंगशाला निर्माण गरिएको बताए । रंगशालाका लागि अर्को वर्ष एक करोड बजेट छुट्याइने मेयर महतले बताए । ‘निजी र जनस्तरबाट रंगशाला निर्माण पूरा हुनेछ । यसमा हेटौंडा उपमहानगरपालिकाको प्रमुख सहयोग रहनेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्