एमालेले संसद बैठक अवरुद्ध गर्ने



नेपाल समाचारपत्र, काठमाडौं ।

संसद बैठक स्थगित गरेर सरकारले पार्टी फुटाएको आरोप लगाउँदै आएको नेकपा एमाले भदौ २३ गतेबाट शुरु हुने संसद् बैठक चल्न नदिने भएको छ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको भन्दै सरकारसँग क्रूद्ध रहेको एमालेले संसद् बैठक अवरुद्ध गर्ने नीति लिएको बताइएको छ ।

दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै आफ्नो पार्टीले कारबाही गरेको १४ सांसदविरुद्ध सूचना टाँस नगरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिसक्नुभएको छ । उक्त रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा शुरु हुन लागेको संसद् बैठकमा एमालेले सभामुख सापकोटा र निर्वाचन आयोगको भूमिकाको विषयलाई लिएर चित्तबुझ्दो जवाफ नआउँदासम्म संसद् बैठक नै चल्न नदिने भएको हो । एमालेले दार्चुलामा भारतीय एसएसबीबीले तुइन काट्दा बेपत्ता भएका जयसिंह धामीको विषयमा पनि सशक्तरूपमा आवाज उठाउने बताएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारको गलत कामविरुद्ध आफ्नो पार्टीले सशक्तरूपमा आवाज उठाउने बताउनुभयो । उहाँले संसद् छलेर सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु गलत भएको बताउँदै आफ्नो पार्टीले सरकारको गलत काम र राष्ट्रियताको पक्षमा आवाज उठाउने बताउनुभयो ।

एमालेले सभामुख सापकोटाले राजनीतिक पक्षधरता देखाएको आरोप लगाउँदै आएको छ । पार्टीको ह्विप उल्लंघन गर्ने सांसदलाई एमालेले कारबाही गरे पनि त्यसलाई सभामुख सापकोटाले राजनीतिक पूर्वाग्रह राखेर पदमुक्त नगरेको भन्दै एमालेले असन्तुष्टि पोखेको छ । एमालेले भदौ १ गते संघीय संसद सचिवालयलाई पत्र लेखेर वरिष्ठ नेता माधवकुमार नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्न आग्रह गरेको थियो । सभामुख सापकोटाले त्यो पत्रअनुसार कारबाही नगरेपछि सांसद बस्नेतलगायतले सभामुखको कार्यकक्षमा गएर धर्नासमेत दिएका थिए । नेपालको नेतृत्वमा भदौ ९ गते नयाँ पार्टी गठन भएपछि सभामुखले कारबाही सिफारिसको औचित्य नभएको निर्णय गर्नुभएको थियो ।

संघीय संसदको आगामी अधिवेशन बुधबारबाट शुरु हुँदै छ । यसैबीच संसद्को अधिवेशनलाई थप प्रभावकारी बनाएर लैजान सभामुखले संसद्मा रहेका दलहरुसँग परामर्श अगाडि बढाउनुभएको जानकारी दिँदै सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले संसद्को मूल्य र मान्यताअनुसार नै सभामुखले संसद्् बैठकलाई सहज रुपमा अगाडि बढाउन तयारी गर्नुभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्