रामेछापमा उप–राष्ट्रपति कप फुटबल हुने



नेपाल समाचारपत्र, काठमाडौं ।

गुराँसेदेवी युवा क्लबको आयोजनामा प्रथम उप–राष्ट्रपति कप फुटबल प्रतियोगिता रामेछापको दोरम्बास्थित सैलुङ गाउँपालिकामा हुने भएको छ ।

प्रतियोगितामा बढीमा ३२ टिमलाई मात्र सहभागी गराइने आयोजक क्लबका अध्यक्ष मदन थापा मगरले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । उनले प्रतियोगिता खुला भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समावेश गराई कुनै पनि टिमले सहभागिता जनाउन पाउने बताए ।

शीर्ष चार स्थानमा रहने टिमले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई २० हजार नगदबाट पुरस्कृत गरिनेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकर तथा सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद पुरस्कार दिइनेछ ।

सैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान र उपाध्यक्ष त्रिशला घिसिङले प्रतियोगिताले स्थानीय पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतियोगिता आगामी असोज ३१ गतेदेखि कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्