नेदरल्यान्ड्सको सानदार जित



लन्डन, (एजेन्सी) ।

आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपेली क्षेत्रको जारी छनोट खेलमा नेदरल्यान्ड्सले सानदार जित हासिल गरेको छ ।

शनिबार राति भएको आफ्नो पाँचौं छनोट खेलमा डच टोलीले आफ्नै घरेलु मैदानमा पाहुना टोली मोन्टेनेग्रोमाथि ४–० को फराकिलो गोलअन्तरको जित निकालेको हो । विश्वकप छनोटमा नेदरल्यान्ड्सका लागि यो तेस्रो जित हो । नेदरल्यान्ड्सले खेलेको पाँचमध्ये एक खेल हारेको छ भने एक खेल बराबरी गरेको छ ।

नेदरल्यान्ड्सको सहज जितमा फरवार्ड मेम्फिस डिपाएले दुई गोल गरे । उनले एक गोल पेनाल्टीसहित दुई गोल गरेका थिए । डिपाएले पहिलो गोल खेलको ३८औं मिनेटमा पेनाल्टीमार्फत् गरेका थिए । त्यसपछि दोस्रो गोल खेलको ६२औं मिनेटमा गर्दै टिमलाई जिततर्फ अघि बढाएका थिए । त्यसपछि ७०औं मिनेटमा जर्जिनियो विज्नाल्डमले तेस्रो गोल थपे भने ७६औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि खेल नेदरल्यान्ड्सले ४–० ले जित्यो ।

शनिबार राति नै भएको अर्को खेलमा युवा खेलाडी अर्लिङ हल्यान्ड सम्मिलित नर्वेले लाट्भियालाई उसैको घरेलु मैदानमा २–० गोलअन्तरले हरायो । नर्वेको जितमा एक गोल हल्यान्ड आफंैले गरेका थिए । यो जितपछि नर्वेको १० अंक भएको छ । नेदरल्यान्ड्सको पनि १० अंक नै छ भने टर्कीको ११ अंक रहेको छ ।

शनिबार राति नै भएको अर्को खेलमा वर्तमान फिफा विश्वकप च्याम्पियन फ्रान्स भने युक्रेनसँग उसैको भूमिमा १–१ को बराबरीमा रोकियो । फ्रान्स लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको हो । युक्रेनको मैदानमा एक गोलले पछि परेको स्थितिमा फ्रान्सले बराबरी गोल फर्काएको थियो । युक्रेनका लागि खेलको ४४औं मिनेटमा माइकोला सापारेन्कोले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर, फ्रान्सका लागि ५०औं मिनेटमा एन्थोनी मार्सियालले गोल गरेर फ्रान्सलाई बराबरीको नतिजा दिलाए ।

त्यस्तै, अर्को खेलमा क्रोएसियाले स्लोभाकियालाई उसैको घरलु मैदानमा १–० ले हरायो । क्रोएसियाका लागि मार्सेलो ब्रोजोभिचले अन्तिम समय ८६औं मिनेटमा एक मात्रै विजयी गोल गरे । अब फ्रान्स समूह ‘डी’ मा ९ अंकसहित शीर्ष स्थानमा छ । युक्रेन ५ अंकसहित तेस्रो स्थानमा छ । यता, क्रोएसिया समूह ‘एच’ मा १० अंकसहित दोस्रो स्थानमा छ । यस समूहमा रसिया पनि समान १० अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्