कोरियन एम्बेसडर तेक्वान्दो आजदेखि



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल तेक्वान्दो संघको आयोजनामा १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहने प्रतियोगिता मूल आयोजक समितिका संयोजकसमेत रहेका नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानु चन्दले जनाएका छन् । ३ सय ९० पुरुष र २ सय ३ महिला खेलाडीले सहभागिता जनाउनेछन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुम्सेमा पदक जितेका प्रायः सबै खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

तीनदिने प्रतियोगितामा कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । व्यक्तिगत स्पर्धाको पुरुष/महिलामा ६–६ गरी १२, पेयर र टिममा समान ६–६ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा समान १–१ गरी २ सहित कुल २६ स्पर्धा समावेश छन् । विगतमा भौतिकरूपमा प्रतियोगिता आयोजना हुँदै आएकोमा कोरोनो भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरी भर्चुअलरूपमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्