बार्सिलोनाको दोस्रो जित



मेड्रिड ।

बार्सिलोनाले जारी सिजनको स्पेनिस ला लिगामा दोस्रो जित आत्मसात गरेको छ ।

घरेलु मैदान क्याम्प नोउमा आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–१ गोलअन्तरले हराउँदै दोस्रो जित दर्ता गरेको हो ।

सिजनको पहिलो खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोलले हराएको थियो । दोस्रो खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । बार्सिलोनाको जितमा सर्जी रोबर्टो र मेम्फिस डिपाएले गोल गरेका थिए ।

गेटाफेका सान्ड्रो रेमिरेजले सान्त्वना गोल गरेका थिए । सबै गोल पहिलो हाफमा सम्भव भएको खेलमा बार्सिलोनाले दोस्रो मिनेटमै खाता खोलेको थियो ।

सर्जीले जोर्डी आल्बाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह बढाएका थिए । १८औं मिनेटमा गेटाफेका सान्ड्रोले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए ।

उनले कार्लेस अलेनाको पासमा गोल गरेका थिए । ३०औं मिनटमा मेम्फिसले फ्रेन्की डे जोङको पासमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालई पुनः अग्रता दिलाए ।

दोस्रो हाफमा बार्सिलोनाले राम्रा अवसर खेर फालेको थियो । गेटाफेले भने बार्सिलोनाको डिफेन्स लाइन चिर्न सकेन ।

बार्सिलोनाका मेम्फिस डिपाए ‘म्यान अफ दी म्याच’ घोषित भए । जितसँगै बार्सिलोनाले तीन खेलबाट सात अंक जोडेको छ । बार्सिलोनासँग पराजित गेटाफे अंकविहीन रहेको छ ।

आइतबार राति नै भएको अर्को खेलमा साविक विजेता एट्लेटिको मेड्रिड भिल्ला रियलसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलमा एट्लेटिको आत्मघाती गोल सहयोगले हारबाट जोगिएको थियो । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा शुरुआती अग्रता भिल्ला रियलले लिएको थियो । भिल्ला रियलका लागि मनुयल ट्रिग्वेरोसले ५२औं मिनेटमा गोलको खाता खोलेका थिए ।

उनले एरेमी पिनोको पासमा गोल गरेका थिए । ५६औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७४औं मिनेटमा एमाउट डान्जुमाले गोल गर्दै भिल्ला रियललाई पुनः अग्रता दिलाए । उनले पनि एरेमी पिनोकै पासमा गोल गरेका थिए ।

रोचक खेलको इन्जुरी समयमा एट्लेटिकोले आत्मघाती गोल उपहार पायो । आइशा मान्डीको प्रहार आफ्नै पोस्टमा छिरेपछि जितनजिक पुगेको भिल्ला रियल अंक बाँड्न बाध्य भयो ।

लिगमा भिल्ला रियलको यो लगातार तेस्रो बराबरी हो । भिल्ला रियलका मनुयल ट्रिग्वेरोस ‘म्यान अफ दी म्याच’ घोषित भए ।

बराबरीसँगै एट्लेटिकोको सात अंक भएको छ । भिल्लारियलको भने तीन अंक छ । अन्य खेलमा ओसासुनाले क्याडिजलाई ३–२ तथा रायो भालेकानोले ग्रानाडालाई ४–० गोलले हरायो ।

प्रतिक्रिया दिनुहोस्