म्यानचेस्टर युनाइटेडको लक्ष्य एम्बाप्पे



लन्डन, (एजेन्सी) ।

म्यानचेस्टर युनाइटेडको आगामी समरको लागि ठूला खेलाडी भित्र्याउने लक्ष्यमा पेरिस सेन्ट जर्मेनका क्लियन एम्बाप्पे पहिलो नम्बरमा रहेका छन् । ओले गनार सोल्सकाएरको टोलीमा यस ट्रान्सफर विन्डोमा सेन्ट्रल मिडफिल्ड र राइट ब्याक पोजिसन सम्हाल्न ठूला खेलाडी अनुबन्ध गर्न लागेको ईएसपीएनले जनाएको हो । इंग्लिस प्रिमियर लिग क्लब युनाइटेडले डेडलाइन समय अगस्ट ३१ सम्म अनुबन्ध गर्ने रहेको छ ।

एडिसन काभानीले भने ओल्ड ट्राफोर्ड यस सिजनको अन्त्यसम्म छाड्ने पनि बताइएको छ । उनी दक्षिण अमेरिकी टिम बोका जुनियर्समा संभवत फर्कनेछन् । उनले छाडेपछि बाँकी रहेको ग्याप भर्न एम्बाप्पे विकल्पका रूपमा युनाइटेडले राखेका छन् । युनाइटेडले एम्बाप्पेसँगै बोरुसिया डर्टमन्डका अर्लिङ हालान्ड, टोटेनहामका हेरी केन र इन्टरमिलानका लाउटारो मार्टिनेजलाई पनि लक्ष्य बनाएको छ ।

एम्बाप्पेको पेरिसमा सम्झौता अन्तिम वर्षमा चलिरहेको छ । उनले पेरिसको क्लबसँग नयाँ सम्झौता गर्न मानिरहेका छैनन् । उनी त्यहाँबाट अन्यत्र क्लबमा जाने इच्छा भएमा युनाइटेड उनलाई भित्र्याउन कोसिसमा रहनेछ । उनीमाथि नजर रियल मेड्रिडले पनि बनाइरहेको छ । उनलाई लिभरपुलले पनि ताकेता गरिरहेको छ ।

फ्रेन्च स्ट्राइकर एम्बाप्पे फुटबल इतिहासमा दोस्रो सर्वाधिक महँगा खेलाडी हुन् । उनी नेयमारपछिको महँगा खेलाडी हुन् । पेरिस सेन्ट जर्मेनले ब्राजिली स्ट्राइकर नेयमारलाई २२२ मिलियन युरोमा अनुबन्ध गरेको थियो । एम्बाप्पेलाई १८० मिलियन युरोमा पेरिस सेन्ट जर्मेनले अनुबन्ध गरेको थियो । यस्तै युनाइटेडको अनुबन्ध हुने खेलाडीको सूचीमा रहेका केनको मूल्य भने १५० मिलियन पाउन्डभन्दा बढी रहेको छ । उनको टोटनहामसँग अर्को तीन वर्ष सम्झौता अवधि बाँकी छ ।

बेन्जेमाको नयाँ सम्झौता

रियल मेड्रिडका लागि कप्तान करिम बेन्जेमाले सन् २०२३ सम्मको लागि नयाँ सम्झौता गरेका छन् । योसँगै फ्रेन्च स्ट्राइकरको स्पेनी क्लबमा समय १४ वर्ष बित्ने तय भयो । ३३ वर्षीय बेन्जेमा सन् २००९ मा बेर्नाबेउमा आएका हुन् । उनले हाल १२ वर्षको स्पेलमा २ सय ८१ गोल गरेका छन् । उनले ला लिगाको पछिल्ला तीन सिजनमा २० भन्दा बढी गोल गरेका छन् ।

बेन्जेमाको हालिया नयाँ सिजन पनि राम्रो गइरहेको छ । गत साता अलाभेसमाथि रियलको ४–१ को जित हुँदा उनले दुई गोल गरेका थिए । उनको राम्रो प्रदर्शनको कारण उनलाई युरो २०२० को लागि पनि फ्रेन्चको राष्ट्रिय टिममा बोलाइएको थियो । उनले हालै सम्पन्न युरोमा ४ गोलसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्