साफको तालिका परिवर्तन



काठमाडौं, (नेस) ।

माल्दिभ्समा आयोजना हुने १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका परिवर्तन भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार यसअघि निकालेको तालिका परिवर्तन गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो । जसअनुसार साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरूवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ । त्यस्तै, नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ ।
यसअघि सार्वजनिक गरिएको खेल तालिकामा नेपालले दोस्रो खेल श्रीलंकासँग अक्टोबर ३ (असोज १७), तेस्रो खेल भारतसँग अक्टोबर ८ (असोज २२) र बंगलादेशसँग अक्टोबर १० (असोज २४) मा खेल्ने तय गरिएको थियो ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्नेछन् । साफ च्याम्पियनसिपको लागि नेपालले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा पोखरामा तयारी गरिरहेको छ । बन्द प्रशिक्षणमा २८ खेलाडी रहेका छन् । साफ च्याम्पियनसिप अघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्