पारा तेक्वान्दो टिमलाई बिदाइ



काठमाडौँ, (नेस) ।

नेपाल तेक्वान्दो संघद्वारा टोकियो पारालम्पिकमा सहभागी हुने नेपाली पारा तेक्वान्दो टिमलाई आज शुभकामनासहित बिदाइ गरिएको छ । टोकियो २०२० पारा ओलम्पिक अन्तर्गत यही मिति २०७८ साल भाद्र १७ देखि १९ गते सम्म हुने पारा तेक्वान्दो खेलमा खेलाडी पलेशा गोवर्धन र प्रशिक्षकमा कविराज नेगी लामाले सहभागिता जनाउनेछन् । आज संघको सातदोबाटो स्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहमा नेपाली टोलीलाई बिदाई गरियो ।

संघका अध्यक्ष प्रकाश शमशेर राणाको सभापतित्वमा आयोजित सो समारोहमा महासचिव दीपराज गुरुङले स्वागत मन्तव्य सहित शुभ–कामना व्यक्त गर्दै पलेशाको सहभागिताका बारेमा प्रकाश पार्नुभएको थियो भने अध्यक्ष प्रकाश शमशेर राणाले खेलाडी र प्रशिक्षकलाई फूलको गुच्छा र खादाद्वारा बिदाइ गर्दै सफलताको लागि शुभ–कामना व्यक्त गर्नुभयो ।

उक्त बिदाइका अवसरमा ललितपुर धापाखेलस्थित नागदह तेक्वान्दो डोजाङका पदाधिकारी र प्रशिक्षकले पलेशाको सफलताको कामनासहित प्रोत्साहनस्वरूप नगद रु २५ हजार प्रदान गर्नुभएको थियो । पलेशाले वाइल्ड कार्ड मार्फत छनोट हुन सफल भई समूहअन्तर्गत ५८ के.जी मुनि वजन समूहमा सहभागिता जनाउनेछिन् । यही भाद्र ०४ गतेका दिन पारा तेक्वान्दो टिम टोकियो प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्