बक्सिङ टोली दुबई प्रस्थान



काठमाडौं, (नेस) ।

एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बुधबार दुबई प्रस्थान गरेको छ ।

युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ केजीमा नारिका राईले प्रतिस्पर्धा गर्ने छन् । जुनियरको पुरुष ५४ केजीमा छिरिङ वाङ्दी शेर्पा तथा महिला ५० केजीमा स्वस्तिका तिरुवाले खेल्नेछन् ।
गत जुलाई ११ देखि १३ तारिखसम्म सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको नेपाल बक्सिङ संघले जनाएको छ ।

प्रशिक्षकमा दीपक महर्जन, डम्बर दत्त भट्ट, सन्दिप श्रेष्ठ र दुर्गा गहतराज रहेका छन् । नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी तथा झापा जिल्ला बक्सिङ संघका सदस्य तर्कराज राई व्यवस्थापकको भूमिकामा छन् । प्रतियोगिता अगस्ट २० देखि ३१ तारिखसम्म सञ्चालन हुने छ ।

टोलीलाई सफलताको शुभकामना दिंदै नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्