बेन्फिका र माल्मो विजयी



लन्डन, (एजेन्सी) ।

युईएफए च्याम्पियन्स लिगको प्ले अफको पहिलो लेगमा पोर्चुगिज क्लब बेन्फिका र स्वीडिस क्लब माल्मो विजयी भएका छन् ।

बुधबार राति भएको खेलमा बेन्फिकाले घरेलु मैदानमा डच क्लब पीएसभी आइन्डोभेनलाई तथा स्वीडिस क्लब माल्मोले बुल्गेरियाको लुडोगोरेट्स राजग्राडलाई पराजित गरेको हो । बेन्फिकाले पिएसभीलाई २–१ गोलअन्तरले हराउँदा राफा सिल्भा र जुलियन वेगलले एक–एक गोल गरे । आइन्डोभेनका लागि कोडी गाक्पोले एक गोल फर्काए ।

खेलको १०औं मिनेटमा राफा सिल्भाको गोलबाट बेन्फिकाले अग्रता लिएको थियो । त्यस्तै, खेलको ४२औं मिनेटमा जुलियनले गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पारे । खेलको ५१औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए पनि पीएसभीले हार भने टार्न सकेन ।

त्यस्तै, अर्काे खेलमा माल्मोले लुडोगोरेट्स राजग्राडलाई २–० ले पराजित गर्दा पहिलो र दोस्रो हाफमा समान एक–एक गोल भएको थियो । उक्त खेलमा घरेलु टोली माल्मोको जितमा भेल्ज्को विरमानसेभिक र जो इनगे बरगेटले गोल गरेका थिए ।

त्यस्तै, अर्काे खेलमा १० खेलाडीमा समेटिएको स्विस क्लब योङ ब्वाइजले हंगेरीको फेरेन्कभारोसमाथि ३–२ को जित निकाल्यो । योङ ब्वाइजको जितमा मेस्चाक इलिया, भिन्सेन्ट सिरो र युलिसेस गर्सियाले गोल गरे । फेरेन्कभारोसका फ्रान्क वोलीले दुवै गोल गरे । खेलको १४औं मिनेटमा फ्रान्क वोलीको गोलबाट फेरेन्कभारोसले अग्रता लिएको थियो । १६औं मिनेटमा मेस्चाक इलियाले बराबरी गोल फर्काए ।

खेलको २५औं मिनेटमा सिल्भान हेफ्टी सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि योङ ब्वाइज १० खेलाडीमा समेटियो । त्यसमै प्राप्त पेनाल्टीमा मेट्रो युजुनी चुक्दा फेरेन्कभारोसले अग्रता लिने अवसर गुमायो ।

खेलको ४०औं मिनेटमा युलिसेसले गोल गर्दै योङ ब्वाइजलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । ८२औं मिनेटमा फ्रान्क वोलीले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए पनि त्यसपछि थप गोल निस्कन नसक्दा योङ ब्वाइजले जित निकाल्न सफल भयो । यी टोलीहरूले अब दोस्रो लेगका खेल २४ अगस्टमा खेल्नेछ । प्लेअफबाट ६ टोलीले च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्