मलान इंग्ल्यान्ड टोलीमा फर्किए



लन्डन, (एजेन्सी) ।

दोस्रो टेस्ट हारेपछि इंग्ल्यान्डले योर्कसायरका ब्याटसम्यान डाविड मलानलाई टोलीमा बोलाएको छ ।

भारतविरुद्धको तेस्रो टेस्टको लागि मलानलाई टोलीमा ल्याउँदा डम सिब्ली र जाक क्राउलीलाई टोलीबाट हटाइएका छन् । इंग्ल्यान्डले सिमर सकिब महमूदलाई पनि टोलीमा राखेको छ । इंग्ल्यान्ड पाँच खेलको टेस्ट सिरिजमा १–० ले पछि परेको छ । तेस्रो टेस्ट अगस्ट २५ मा लिड्सस्थित हेडिङलीमा हुँदैछ ।

३३ वर्षीय मलानले पछिल्लोपटक अगस्ट २०१८ मा टेस्ट खेलेका थिए । उनले टेस्टमा २७.८४ औसतसहित ७ सय २४ रन जोडेका छन् । उनले एक टेस्टशतकसहित ६ अर्धशतक प्रहार गरेका छन् ।

उनलाई टेस्टमा फेरि फर्काएपद्धि इंग्ल्यान्डका प्रमुख कोच क्रिस सिल्भरवुडले बताए–‘डाविड मलान टेस्ट खेलका हकदार हुन् । उनको सबै फरम्याटमा धेरै अनुभव छ । मलाई विश्वास छ उनलाई बोलाउनुको मुख्य कारण उनले घरेलु मैदानमा राम्रो गर्न सक्छन् । डम सिब्लीको आत्मविश्वास नभएको हुँदा उनलाई साइडलाइन गरियो । उनी वार्कविकसायरमा केही अनुभव हासिल गरेर फेरि फर्कन सक्नेछन् ।’

अर्का ड्रप भएका खेलाडी केन्टका ब्याटसम्यान क्राउलीले १५ टेस्ट खेलेका छन् । उनले पाकिस्तानविरुद्ध अगस्ट २०२० मा २ सय ६७ रनको उत्कृष्ट इनिङ खेलेका थिए । तर, उनले टोलीमा स्थान गुमाएका छन् । उनले अब काउन्टीमा खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्