अस्ट्रेलिया टोलीमा स्मिथको पुनरागमन



मेलबर्न, (एजेन्सी) ।

अस्ट्रेलियाले आईसीसी पुरुष टी २० विश्वकप २०२१ को लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

उक्त टोलीमा नाम चलेका खेलाडीहरूको पुनरागमन पनि भएको छ । कप्तानको जिम्मेबारी आरोन फिन्चलाई दिइएको छ भने स्टिभ स्मिथ, डेभिड वार्नर, पेट कमिन्स र ग्लेन मेक्सवेल टोलीमा पुनरागमन भएका हुन् । पूर्व कप्तान रिकी पोन्टिङले क्रिकेट अस्ट्रेलियाको राष्ट्रिय छनोट कमिटीद्वारा घोषित टोली शानदार रहेको र आगामी आईसीसी पुरुष टी–२० विश्वकप जित्न सक्षम हुने बताए ।

अस्ट्रेलियाको १५ सदस्यीय टोलीमा अनक्याप्ड वेस्ट अस्ट्रेलियाका जोश इंग्लिसलाई मेथ्यु वेडको ब्याकअप विकेटकिपरको रूपमा टोलीमा राखिएको छ । पोन्टिङ इंग्लिसलाई टी–२० विश्वकपका लागि टोलीमा मौका दिइएकोमा खुशी भएका छन् । उनले ट्विट गरेका थिए–‘इंग्लिसलाई टोलीमा मौका दिएको देखेर मलाई धेरै खुशी लागेको छ, उनले रन बनाइरहेका छन् र यदि एलिसलाई पनि टोलीमा बोलाएको भए अझ राम्रो हुनेछ । कुल मिलाएर यो राम्रो खेलाडीको शानदार टोली हो मलाई लाग्छ विश्वकप जित्न सक्षम हुनेछ ।’

क्रिकेट अस्ट्रेलियाले बताए कि छनोटकर्ताले एस्टन एगर, एडाम जाम्पा र ग्लेन मेक्सवेलका साथै क्विन्सलेन्डर मिसेल स्वेपसनसहित चार स्पिनरलाई छनोट गरेको छ । अस्ट्रेलिया २३ अक्टोबरमा अबुधाबी रंगशालामा सुपर १२ चरणको पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध टी–२० विश्वकपमा आफ्नो अभियान शुरूवात गर्नेछ । अस्ट्रेलियाले ५ पटक एकदिवसीय विश्वकप जितेको छ । तर, टी–२० विश्वकपको उपाधि अस्ट्रेलियाले जित्न सकेको छैन । फिन्चको नेतृत्वमा रहेको टोलीलाई यस वर्षको इभेन्टका लागि इंग्ल्यान्ड, दक्षिण अफ्रिका र वेस्टइन्डिजका साथ साथै अहिलेसम्म निर्धारित दुई क्वालिफायरको साथ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्