लोकाटेली युभेन्टसमा अनुबन्धित



लन्डन, (एजेन्सी) ।

इटालीका राष्ट्रिय टोलीका स्टार मिडफिल्डर म्यानुयल लोकाटेली इटालियन सिरी ए क्लब युभेन्टसमा अनुबन्धित भएका छन् ।

युभेन्टसले लोकाटेलीलाई ३२ मिलियन पाउन्डमा सिरी ‘ए’ प्रतिद्वन्द्वी सस्सुलोबाट ५ वर्षका लागि अनुबन्ध गरेको हो । अनुबन्धसँगै २३ वर्षीय युवा मिडफिल्डर सन् २०२६ सम्म युभेन्टसमा रहनेछन् । लोकाटलीले बुधबार नै युभेन्टसको प्रशिक्षण स्थलमै रहेको मेडिकलमा मेडिकल परीक्षण भइसकेको छ । लोकाटेलीले युभेन्टसमा शुरूवाती दुई सिजन लोनमा खेल्नेछ । त्यसपछि मात्रै युभेन्टसले लोकाटेलीलाई स्थायी खेलाडी बनाउने सहमति भएको छ ।

सन् २०१८ मा एसी मिलान छाडेर सस्सुलो पुगेपछि लोकाटेली इटालीको उत्कृष्ट मिडफिल्डरको रूपमा उदाएका थिए । उनले सस्सुलोबाट ९९ खेल खेल्दा ७ गोल र ११ असिस्ट दिएका छन् । सस्सुलो पछिल्लो तीन सिजन नै शीर्ष ८ भित्र अटाउन सफल भएका छन् ।

लोकाटेलीले इटालीबाट १५ क्याप जितिसकेका छन् । गत जुलाईमा सकिएको युरोकपमा इटालीलाई च्याम्पियन बनाउँदा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । उनले युरोमा ५ खेलमा २ गोल गरेका थिए । युभेन्टसले आइतबार उडिनेससँग खेल्दै नयाँ सिजनको इटालियन सिरी ‘ए’ शुरूवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्