लिभिङस्टोनको विस्फोटक ब्याटिङ



लन्डन, (एजेन्सी) ।

लायम लिभिङस्टोनको विस्फोटक ब्याटिङले बर्मिङगम फोनिक्स मेन्स हन्ड्रेड फाइनलमा पुगेको छ । हेडिङगलीमा भएको खेलमा बर्मिङगम फोनीक्सले नर्दन सुपरचार्जसलाई ८ विकेटले हराएको हो । उक्त खेलमा लिभिङस्टोनले केवल ४० बलमा ९२ रन बनाए । उनले १० छक्का प्रहार गरेर टोलीलाई २६ बल बाँकी रहँदै फाइनलमा पुर्‍याएका थिए ।

सुपरचार्जसले ८ विकेटको क्षतिमा १ सय बलमा १ सय ४३ रन जोडेको थियो । ४० बलको सामना गर्दा सुपरचार्जस सबै विकेट सुरक्षित राखेर ८२ रनको राम्रो स्थितिमा थियो । तर, बाँकी ६० बलमा टोलीले ६१रन मात्रै जोड्न सकेको थियो । लिभिङस्टोनले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरे । उनले २५ रन दिएर ३ विकेट हात पारेका थिए ।

स्पिन बलर मोइन अली इंग्ल्यान्डको टोलीमा फर्केपछि फोनिक्सको लागि दबाब बढेको थियो । तर, लिभिङस्टोनले यसको भर्पाइ गरिदिए । २८ वर्षीय लिभिङस्टोनले जारी प्रतियोगितामा छिटो अर्धशतक पनि प्रहार गरेका छन् । उनले २० बलमा अर्धशतक पूरा गरेका थिए । यस्तै उनले जारी प्रतियोगितामा सर्वाधिक २३ छक्का प्रहार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्