माल्दिभ्ससँग नेपालको पहिलो खेल



काठमाडौं, (नेस) ।

आयोजकसमेत रहेको साविक विजेता माल्दिभ्ससँग खेल्दै नेपालले यसपटकको साफ च्याम्पियनसिपको शुरूवात गर्ने भएको छ ।

५ राष्ट्रको सहभागिता रहने साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्समा शुरू हुँदैछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । सन् २०१८ मा बंगलादेशमा भएको पछिल्लो साफको सेमिफाइनलपछि नेपाल र माल्दिभ्सबीच पहिलोपटक भेट हुनेछ । त्यति बेला नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ३ (असोज १७) मा खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर ८ (असोज २२) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १० (असोज २४) मा खेल्नेछ ।

प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १३ (असोज २७) मा प्रतिस्पर्धा गर्ने छन् । राउन्ड रोविन लिगको शीर्ष २ टोलीले असोज २७ गते उपाधिका लागि फाइनल खेल्नेछन् । नेपाल टोलीले अहिलेसम्म साफको सेमिफाइनल पार गर्न सकेको छैन ।

साफ च्याम्पियनसिपको लागि नेपालले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा पोखरामा तयारी गरिरहेको छ । प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीबाट सोमबार मात्र तेस्रो चरणको छनोटमा २८ खेलाडी छनोट गरेका थिए । नेपालले साफ च्याम्पियनसिपको तयारीका लागि भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । खेल भदौ १७ र २० गते दशरथ रंगशालामा हुनेछ । नेपाली टोली हाल दुई साता लामो प्रशिक्षण क्याम्पका लागि पोखरामा छ ।

माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा ५ देशले मात्र सहभागिता जनाउंदै छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार १३ औं संस्करणमा ५ देशको सहभागिता रहने जनाएको हो ।

यस संस्करणमा आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ । यस संस्करणमा भुटान र पाकिस्तानको सहभागिता रहेको छैन । भुटानले कोरोना महामारीको कारण देखाएको छ । पाकिस्तान फुटबल भने फिफाको निलम्बनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्