बायर्नलाई सुपरकपको उपाधि



लन्डन, (एजेन्सी) ।

नयाँ सिजन २०२१–२२ अन्तर्गत जर्मन सुपर कप फुटबलको उपाधि बार्यन म्युनिखले जितेको छ ।

मंगलबार राति भएको फाइनल खेलमा बार्यनले लिग प्रतिस्पर्धी बलियो टोली बोरुसिया डर्टमन्डलाई ३–१ गोलअन्तरले हराउँदै नवौंपटक सुपर कपको उपाधि जितेको हो । सिग्नल इडुना पार्कमा भएको उक्त खेलमा बार्यनलाई उपाधि दिलाउन पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्की नायक बने । उनले उपाधि भिडन्तमा बायर्नले गरेको तीनवटै गोलमा योगदान गरे । उनले दुई गोल गर्नुका साथै एक गोलमा असिस्ट गरेका थिए । उनकै नायकत्वमा टिमले नयाँ सिजनको पहिलो उपाधि जित्न सफल भयो ।

बार्यनका लागि लेवान्डोस्कीले खेलको ४१औं मिनेटमा पहिलो गोल हेडिङमार्फत् निकै दर्शनीय ढंगले गरेका थिए । डीबक्सभित्र उनले लामो दूरीबाट आएको बललाई कडा हेडिङ प्रहारमा सोझै जाली चुमाएका थिए । उनको गोलमा सर्जी गेनाब्रीले असिस्ट गरेका थिए ।

त्यसपछि खेलको ४९औं मिनेटमा बार्यनले अग्रता दोब्बर बनायो । यसपटक थोमस मुलरले डीबक्सभित्रबाट गोलकिपर बिट भएका बेला सहजै गोल गरे । उनको गोलमा लेवान्डोस्कीले ब्याक हिल टचमा निकै बुद्धिमानी असिस्ट मिलाएका थिए । जसमा मुलरले कुनै गल्ती नगरी गोल गरेका थिए ।

त्यसपछि, डर्टमन्डका लागि खेलको ६४औं मिनेटमा कप्तान मार्को रेउसले गोल गरे । उनले युवा खेलाडी बेलिङघमको पासमा डीबक्स बाहिरबाट खतरनाक सटमा शानदार गोल गरेका थिए । उनको प्रहारमा बार्यनका गोलकिपर म्यानुल निउरले रोक्ने कुनै मौका नै पाएनन् । सो गोलपछि खेल डर्टमन्डले खेलमा फर्किने संकेत देखाएको थियो ।

तर, खेलको ७४औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमन्डको सम्भावना क्षीण बन्यो । डर्टमन्डका खेलाडीबीच तालमेल नमिल्दा बार्यनका खेलाडीले बल खोसेर दिएको पासमा लेवान्डोस्कीले उत्कृष्ट फिनिसिङमा गोल गरेपछि बार्यन जिततर्फ अघि बढेको थियो । त्यसपछि थप गोल भएन र खेल बार्यनले ३–१ ले जित्दै लगातार दोस्रोपटक उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । बायर्नले गत सिजन पनि डर्टमन्डमाथि ३–२ को जित निकाल्दै उपाधि जितेको थियो । जर्मन सुपर कपको उपाधिका लागि बुन्डेस लिगा च्याम्पियन र डिएफबी पोकल विजेताबीच प्रतिस्पर्धा हुने प्रावधान छ ।

गत सिजन बायर्न बुन्डेसलिगा तथा डर्टमन्ड डिएफवी पोकल च्याम्पियन बनेको थियो । डिएफवी सुपर कप र डिएफएल सुपर कपको नामले २२औं सिजन सकिँदा बायर्न ९ पटक च्याम्पियन जर्मन सुपर कप च्याम्पियन बन्न सफल भएको छ । डर्टमन्डले भने ६ पटक उपाधि जितेको छ । त्यस्तै, वेडर ब्रेमेनले तीनपटक उपाधि जित्दा एफसी काइसरस्लाउटन, भिएफवी स्टुर्टगार्ट र भिएफएल वल्फ्सवर्ग समान एक–एकपटक च्याम्पियन बनेको छ । आइनट्राख्ट फ्रान्कफर्ट दुईपटक तथा ह्यामवर्गर, ह्यानोभर ९६, बायर लिभरकुसन र बोरुसिया मोन्चेनग्लाडवाकले भने एकपटक फाइनल यात्रा तय गरे पनि उपाधि जित्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्