अफगानी खेलाडीले पाराओलम्पिक नखेल्ने



लन्डन, (एजेन्सी)  । 

अफगानिस्तानका दुई खेलाडीले आसन्न पाराओलम्पिकमा सहभागिता जनाउन नपाउने भएका छन् ।तालिवानले सत्ता कब्जा गरेसँगै तेक्वान्दोकी जाकिया खुदादादी र एथ्लेटिक्सका हुसेन रसोउलीले पारा ओलम्पिक गुमाउने भएका हुन् । दुवै पारा एथ्लिटहरूले पारा ओलम्पिकका लागि मंगलबार जापान आइपुग्ने तालिका थियो ।

तर, तालिवानले काबुल विमानस्थलमा कब्जा गरेपछि उनीहरू जापान उड्नबाट वञ्चित भएका हुन् । अफगानिस्तान पाराओलम्पिक कमिटीका सेभ द मिसन अरिन सिद्धिकीले यो घटनालाई ‘विनाशकारी’ भनेका छन् । पाराओलम्पिक २४ अगस्टबाट शुरू हुँदैछ । खुदादादी पारा ओलम्पिक खेल्ने पहिलो अफगानी महिलासमेत बन्दै थिइन् । केही समयअघिको एक अन्तर्वार्तामा २३ वर्षीया खुदादादीले पारा ओलम्पिक खेल्ने देशकै पहिलो महिला बन्न लागेकोमा उत्साहित रहेको बताएकी थिइन् । २४ वर्षीय रसोलीले टोकियो पारा ओलम्पिक खेल्नु आफ्नो सपना रहेको बताएका थिए ।हाल काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रण रहेको छ । अमेरिकाले आफ्ना कूटनीतिक पदाधिकारी र नागरिकहरूलाई अफगानिस्तानबाट स्वदेश फिर्ता लग्न विमानस्थल नियन्त्रणमा लिएको हो ।

तालिवानको कब्जामा रंगशाला

तालिवानले अफगानिस्तानको सत्ता हासिल गरेपछि काबुलसहित देशका रहेका ६ ठूला क्रिकेट रंगशालामा पनि कब्जा गरेको छ । यो रंगशाला अब त्यहाँका खेलाडीलाई पाउँछ वा पाउँदैन यो तालिवानप्रति निर्भर रहेको छ । तालिवानीको खेलसँग विरोध छ भन्ने पनि चर्चा छ । यसले गर्दा अफगानी खेलाडीहरूका लागि क्रिकेट खेल्न नपाउने संकेतसमेत भएको छ ।अफगानिस्तानका तीन स्टार क्रिकेटर राशिद खान, मोहम्मद नाबी र मुजीबउर रहमानले सोसल मिडियामार्फत् विश्वभरिका शीर्ष नेताहरूसँग अफगानिस्तान र क्रिकेटलाई बचाउन अघि सर्न अपिल गरेका छन् ।अफगानिस्तान टिम विश्वकपका लागि सीधै छनोट हुने आठांै राष्ट्र हो । राशिदको कप्तानीमा केही समयदेखि अफगानिस्तानले राम्रो प्रदर्शन गरिरहेको छ । टिम टी–२० वरीयतामा सातौं स्थानमा रहेको छ । अफगानिस्तान सीधै छनोट हुँदा श्रीलंका र बंगलादेशजस्ता टिमले क्वालिफाइङ राउन्ड खेल्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्