एथ्लेटिक्स परिवारद्वारा वार्षिक कार्यक्रम घोषणा



काठमाडौं, (नेस) । 

एथ्लेटिक्स परिवार, नेपालले आर्थिक वर्ष २०७८-०७९ को वार्षिक कार्यक्रम घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एथ्लेटिक्स परिवारले वार्षिक कार्यक्रम घोषण गरेको हो ।

एथ्लेटिक्स परिवारले २०७८ मंसिरमा काठमाडौंमा युथ एथ्लेटिक्स च्याम्पियनसिप (यू–१६-यु–२०), २०७८ माघमा नुवाकोटमा झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता, २०७८ फागुनमा काठमाडौंमा गोल्डेन एथ्लेटिक्स मिट र २०७९ साउनमा खुला क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना गर्ने परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिए । खुला क्रसकन्ट्रीको स्थान भने पछि तय गरिने बताइएको छ । सबै प्रतियोगिता आयोजना गर्न करिब ४५ लाख खर्च लाग्ने परिवारले जनाएको छ ।

सोही अवसरमा एथ्लेटिक्स परिवारको ९ सदस्यीय पदाधिकारीहरूको नामवली पनि सार्वजनिक गरिएको थियो । अध्यक्षमा खत्रीलगायत उपाध्यक्षमा दीपककुमार रन्जित, सचिवमा मन्जु श्रेष्ठ, कोषाध्यक्षमा सुष्मा पाण्डे तथा सदस्यमा राजकुमारी पाण्डे, सिताराम महतो, सुन्दरकेशर कार्की, बुलाल महर्जन र आसराम गोठे रहेका छन् । सल्लाहकारमा मोहन नेपाल, सुशिलनरसिंह राणा, सुनिल राजवंशी र सञ्जीव तुलाधरलाई चयन गरिएको छ ।अध्यक्ष खत्रीले एथ्लेटिक्स परिवार, नेपाल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्