पाराओलम्पिक टोलीलाई केल्मीद्वारा खेल पोशाक प्रदान



काठमाडौं, (नेस) ।

जापानमा हुने टोकियो पाराओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई कामरु ट्रेडिङ प्रा.लिले केल्मीको खेल पोशाक मंगलबार प्रदान गरेको छ ।

नेपालमा केल्मीको आधिरिक विक्रेता कामरुले पूर्व सम्झौताबमोजिम टोलीलाई खेल पोशाक प्रदान गरेको हो । कामरुले टोकियोमै सम्पन्न ३२ औं ग्रीष्मकालीन टोकियो ओलम्पिकमा सहभागी नेपाली टोलीलाई पनि केल्मीको खेल पोशाक प्रायोजन गरेको थियो ।पाराओलम्पिकमा सहभागी हुने १ खेलाडीसहित ५ सदस्यीय टोलीलाई कामरुका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले दरबारमार्गस्थित आफ्नै कार्यकक्षमा सामग्री हस्तान्तरण गरे ।

अगस्ट २४ तारिखदेखि शुरू हुने पाराओलम्पिक नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनले प्रतिस्पर्धा गर्दैछिन् । पलेशाले के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।पाराओलम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, सरोज श्रेष्ठ सेफ दि मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रूपमा सहभागी हुँदैछन् । टोली शुक्रबार जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।कार्यक्रममा प्रबन्ध निर्देशक न्यौपानेले केल्मीले विभिन्न खेलमा प्रायोजन गर्दै आएको जानकारी गराउँदै पाराओलम्पिकमा नेपालले राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्