विश्वकप क्रिकेटको तालिका सार्वजनिक



लन्डन, (एजेन्सी) । 

ओमान र यूएईमा हुने आइसीसी टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।आईसीसीले जारी गरेको उक्त खेल तालिकाअनुसार प्रतियोगिताको पहिलो चरणमा आठ टिमको सहभागिता हुनेछ । जसमा श्रीलंका, बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, नामिबिया, ओमान र पीएनजी छन् ।

यो टिमबाट शीर्ष चार टिम सुपर १२ मा पुग्नेछन् ।सुपर १२ को समूह ‘ए’ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिजसँगै छनोट हुने दुई टिमले सहभागिता जनाउनेछन् । जसमा पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता हुनेछन् ।

त्यस्तै, समूह ‘बी’ मा पाकिस्तान र भारतसँगै, अफगानिस्तान, न्युजिल्यान्ड छन् । यो समूहमा पहिलो चरणको समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेताले खेल्नेछन् । पहिलो चरणका समूह ‘बी’ का सबै खेल ओमानमा हुने भएका छन् । पहिलो चरणका समूह ए, सुपर १२, सेमिफाइनल र फाइनल यूएईमा हुनेछ । सुपर १२ का खेलहरू २३ अक्टोबरबाट दुबई, आबुधाबी र शारजाहमा हुनेछन् ।इन्डियन प्रिमियर लिगपछि हुने यो प्रतियोगिताका सेमिफाइनल नोभेम्बर १० र ११ मा हुनेछन् । फाइनल खेल दुबई क्रिकेट स्टेडियममा नोभेम्बर १४ मा हुनेछ ।

टाइसिटअनुसार चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानले समूह चरणको पहिलो खेलमा नै खेल्ने भएका छन् । सुपर १२ को समूह ‘बी’ मा भारत र पाकिस्तानले अक्टोबर २४ मा खेल्ने भएका छन् । यो खेल दुबईमा हुनेछ । कोभिडका कारण सरेको टी–२० विश्वकप यूएई र ओमानमा अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्