भारतले इंग्ल्यान्डलाई उसैको मैदानमा हरायो



लन्डन, (एजेन्सी)   । 

भारतले बराबरीतिर अग्रसर भएको इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट १ सय ५१ रनले जितेको छ । यो जितसँगै पाहुना टाेली भारतले ५ खेलको टेस्ट सिरिजमा १–० को अग्रता लिएको छ । यसअघि पहिलो टेस्ट बराबरीमा सकिएको थियो । इंग्ल्यान्डलाई २ सय ७२ रनको लक्ष्य दिएको भारतले १ सय २० रनमै अलआउट गरेर इंग्ल्यान्डलाई उसैको मैदानमा माथ खुवायो । भारतका ओपनर केएल राहुल प्लेयर अफ द म्याच घोषित भए । तेस्रो टेस्ट २५ अगस्टदेखि लर्डस्मा हुनेछ ।

लर्डस् मैदानमा इंग्ल्यान्डका लागि कप्तान जोए रूट आउट भएपछि नै भारतले जितको ढोका ढक्ढक्याइसकेको थियो । पहिलो इनिङमा १ सय ८० रनको नटआउट इनिङ खेलेका रूट ३३ रनमै पभेलियन फर्केका थिए । रूटले पहिलो इनिङमा उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई २७ रनको अग्रतासमेत दिलाएका थिए । तर, दोस्रो इनिङमा उनलाई जसप्रीत बुमराहले भारतीय कप्तान विराट कोहलीद्वारा क्याच आउट गराएर इंग्ल्यान्डलाई ठूलो झट्का दिए । उनी पाँचौं विकेटको रूपमा आउट हुँदा इंग्ल्यान्डको स्कोर ६७ थियो ।

यसपछि जोस बटलर र मोइन अलीले हारबाट जोगाउन भरपुर प्रयास गरे । तर, मोइनलाई व्यक्तिगत १३ रनमा मोहम्मद सिराजले आउट गरेपछि रूटको टोलीले टेस्ट बचाउन सक्ने कुनै सम्भावना नै रहेन । ९० रनमा छैटौं विकेट गुमाएको इंग्ल्यान्डले सोही स्कोरमा अर्को विकेटको रूपमा साम कुरानलाई गुमायो । सात विकेटको पतनपछि भारतले घातक बलिङ गर्न थाल्यो । बटलर र रोबिनसनले स्कोर १ सय २० सम्म पु¥याए । तर, यही स्कोरमै बाँकी तीन ब्याटसम्यान पभेलियन फर्कनुपरेको थियो ।

उता भारतलाई जित दिलाउन सिराजले ४ विकेट लिएका थिए । उनले बटलर, अली, कुरान र जेम्स एन्डरसनको विकेट हात पारेका थिए । यस्तै बुमराहले तीन विकेट हासिल गरे । उनले रूटसँगै रोरी बन्र्स र रोबिनसनको विकेट हासिल गरेका थिए । त्यस्तै इशान्त शर्माले २ तथा शामीले एक विकेट लिएका थिए ।यसअघि, भारतले दोस्रो इनिङमा ८ विकेटको क्षतिमा २ सय ९८ रन बनाएको थियो । ८ विकेट छिटै आउट गरेको इंग्ल्यान्डले नवौं जोडी तोड्न सकेन । मोेहम्मद शामी र बुमराहले नवौं विकेटको लागि ८९ रनको साझेदारी गर्दै भारतलाई बलियो बनाएका थिए । शामी ५४ रनमा र बुमराह ३४ रनमा नटआउट रहे ।

प्रतिक्रिया दिनुहोस्