पाकिस्तानविरुद्ध वेस्टइन्डिजको सनसनी जित



लन्डन, (एजेन्सी) ।

वेस्टइन्डिजले पाकिस्तानविरुद्धको पहिलो टेस्टमा १ विकेटको सनसनी जित हासिल गर्दै दुई टेस्ट सिरिजमा १–० को अग्रता लिएको छ ।
सबिना पार्कमा पाकिस्तानले दिएको १ सय ६८ रनको लक्ष्य घरेलु टोली वेस्ट इन्डिजले ५६.५ ओभरमा ९ विकेट गुमाएर पछ्याएको हो ।

अन्तिम विकेटको जोडी अनुभवी खेलाडी केमार रोच र युवा खेलाडी जयडेन सिल्सले टोलीलाई जित दिलाए । १ सय ५१ को स्कोरमा नौ विकेट गुमेपछि हारको नजिक पुगेको वेस्टइन्डिजलाई उनीहरूले १७ रन साझेदारी गरेर जितसम्म डोर्‍याएका हुन् । यसअघि पाकिस्तानको पहिलो र दोस्रो इनिङमा २० विकेट पतन भएकोमा उनीहरूले १३ विकेट बाँडेका थिए ।

वेस्ट इन्डिजको शुरूआत नै खराब भएको थियो । १६ रनको लागि ३ विकेट गुमेपछि घरेलु टोली संकटमा परेको थियो । तर, टोलीलाई जर्मेन ब्ल्याकवुडले अर्धशतक प्रहार गरेर १ सय ११ रनसम्म पु¥याए । यद्यपि यहाँसम्म पुग्दा टोलीले थप ३ विकेट गुमाइसकेको थियो । छैटौं विकेटको रूपमा आउट भएका ब्ल्याकवुडले ५५ रन जोडे भने चौथो विकेटको रूपमा आउट भएका रोस्टन चेसले २२ रन जोडेका थिए ।

तीन रन जोडेपछि जेसन होल्डर पनि आउट भए । उनी आउट हुँदा वेस्ट इन्डिजको स्कोर ७ विकेटको क्षतिमा १ सय १४ थियो, टोलीले जित्न अझै ५४ रनको आवश्यक थियो । होल्डरले १६ रन मात्रै योगदान दिन सके । यसपछि रोचले जोशुआ डासिल्भासँग २८ रनको साझेदारी गर्दै टोलीको स्कोर १ सय ४२ मा पुर्‍याए । डासिल्भा १३ रनमा आउट भएका थिए ।

९ रन जोडेपछि जमेल वारिकन व्यक्तिगत ६ रनमा आउट भएका थिए । यसपछि रोच र सिल्सले थप विकेट गुमाउन दिएनन् र सनसनी जित दिलाउन सफल भए । १७ रनको साझेदारीमा सिल्सले केवल विकेट बचाएका थिए । उनी २ रनमा नटआउट रहेका थिए । पाकिस्तानको तर्फबाट शाहिद अफरिदीले सर्वाधिक ४ विकेट लिँदा हसन अलीले ३ विकेट लिए । यस्तै फाहिम असरफले २ विकेट हात पारेका थिए ।

पाकिस्तान दोस्रो इनिङमा २ सय ३ रन बनाएर अलआउट हुनुपरेको थियो । टोलीका लागि बाबर आजमले सर्वाधिक ५५ रनको योगदान दिएका थिए । जबकी उनले १ सय ६० बलको सामना गरेर सुस्त ब्याटिङ गरेका थिए । यस्तै, आबिद अलीले ३४ रन जोडे भने मोहम्मद रिजवानले ३० रन बनाए । अन्यमा हसन अलीले २८, अजहर अलीले २३ र असरफले २० रनको योगदान दिएका थिए । वेस्ट इन्डिजतर्फ जयडेन सिल्सले सर्वाधिक ५ विकेट लिए भने रोचले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्