मेसीबिनाको बार्सिलोनाको सुखद शुरूवात



लन्डन, (एजेन्सी) ।

स्पेनिस ला लिगा क्लब बार्सिलोनाले नयाँ सिजन २०२१–२२ मा सुखद शुरूवात गरेको छ ।

आइतबार रातिबाट शुरू भएको सिजनको पहिलो ला लिगा खेलमा बार्सिलोनाले सहज जित निकालेको हो । पूर्वकप्तान तथा प्रमुख खेलाडी लिओनल मेसी १७ वर्षयता क्लबमा नहुँदाको पहिलो सिजनको पहिलो आधिकारिक खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि ४–२ गोलअन्तरको जित निकाल्न सफल भयो ।

आफ्नो घरेलु मैदान क्याम्प नोउ रंगशालामा २० हजार दर्शकमाझ भएको ला लिगाको पहिलो खेलमा बार्सिलोनालाई जिताउन डेनिस फरवार्ड मार्टिन ब्रेथवेट नायक बने । उनले टिमका लागि दुई महत्वपूर्ण गोल र एक असिस्टसमेत गरे । बाँकी गोल डिफेन्डर जेर्राड पिके र सर्जी रोर्वेटोले गरे । सिजनको पहिलो खेलमा २० हजार दर्शक प्रवेशको अनुमति पाएको खेलमा बार्सिलोना कुनैबेला ३–० को जित नजिक पुगेका थिए । तर, अन्तिम समयमा तीन मिनेटमा दुई गोल बेहोरेपछि बार्सिलोना ४–२ ले विजयी बन्यो ।

बार्सिलोनाका लागि पहिलो गोल खेलको १९औं मिनेटमा फ्रिकिकबाट आएको बलमा हेडिङमार्फत् जेरार्ड पिकेले गरेका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा ब्रेथवेटले पहिलो गोल गरेर खेललाई पहिलो हाफमा २–० बनाए । त्यसपछि खेलको ५९औं मिनेटमा ब्रेथवेटले नै व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० को स्थितिमा पुगेको थियो ।

तर, त्यसपछि सोसिडाडले खेलमा फर्किने संकेत देखायो । सोसिडाडले मात्रै तीन मिनेटको बीचमा दुई गोल फर्कायो । खेलको ८२औं मिनेटमा जुलेन लोवेटेले पहिलो गोल गरे भने त्यसको तीन मिनेटमै मिकेले ओयारजबालले गोल गरेपछि ३–० को खेल ३–२ मा छोटियो । त्यसपछि सोसिडाड बराबरी गोलको खोजीमा संघर्ष गरिरहेको थियो । तर, बार्सिलोनाका लागि सर्जी रोर्वेटोलेले खेलमा थपिएको इन्ज्युरी समयको पहिलो मिनेटमा चौथो गोल गरेपछि खेल बार्सिलोनाले ४–२ ले जित्यो । यो जितपछि बार्सिलोना तीन अंकका बटुलेको छ ।

स्पेनिस ला लिगाअन्तर्गत नै भएको अर्को खेलमा एट्लेटिको मेड्रिडले पनि नयाँ सिजनमा सुखद शुरूआत गर्‍यो । आइतबार राति नै भएको सिजनको पहिलो खेलमा एट्लेटिकोले सेल्टा भिगोलाई उसैको घरेलु मैदानमा २–१ ले हराउँदै विजयी शुरूआत गरेको हो ।

यस खेलको इन्जुरी समयको पाचौं मिनेटमा दुवै टोलीका एक–एक खेलाडीले रातो कार्ड पाएका थिए । एट्लेटिकोका मारियो हेर्माेसो र सेल्टाका ह्युगो माल्लोले सोझै रातो कार्ड पाएर मैदान छाडे । खराब ट्याकलपछि दुई पक्षका खेलाडी झडप र वादविवादमा उत्रिएपछि रेफ्रीले दुवैलाई रातो कार्ड दिएर मैदानबाट निकालेका थिए ।

सिजनको पहिलो खेलमा एट्लेटिकोलाई जिताउन अर्जेन्टिनी खेलाडी एन्जल कोरेरिया नायक बने । टिमका लागि दुवै गोल उनैले गरे । उनले पहिलो गोल २३औं मिनेटमा गरेका थिए भने दोस्रो गोल ६४औं मिनेटमा गरेका थिए । यता, पराजित सेल्टाका लागि इयागो आसपासले ५९औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए । त्यसपछि पनि आसपासले बराबरी गोलका लागि अवसर पाएका थिए । तर, सदुपयोग गर्न नसक्दा खेल एट्लेटिकोले २–१ ले जित्यो ।

प्रतिक्रिया दिनुहोस्