चेल्सीको सुखद शुरूवात



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिग फुटबलमा नयाँ सिजन २०२१–२२ मा चेल्सीले सुखद शुरूवात गरेको छ ।

शनिबार राति भएको लिगको पहिलो खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि ३–० को फराकिलो जित हासिल गरेको हो । केही दिनअघि मात्रै यूईएफए सुपर कपको उपाधि जितेको चेल्सीले नयाँ सिजनको पहिलो लिग खेलमा सहज जित निकाल्दै सुखद् शुरूआत गरेको छ । आफ्नो घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जिताउन तीन जना फरक–फरक खेलाडीले गोल गरे । पहिलो गोल खेलको २७औं मिनेटमा मार्कोस अलोन्सोले फ्रिकिकमार्फत् दर्शनीय गोल गरेर लन्डन क्लबलाई अग्रता दिलाएका थिए । त्यसपछि, दोस्रो गोल ४०औं मिनेटमा क्रिस्टिएन पुलिसिचले गरेर चेल्सीको अग्रता पहिलो हाफमा दोब्बर बनाएका थिए ।

त्यसपछि, दोस्रो हाफमा चेल्सीका लागि तेस्रो गोल युवा खेलाडी ट्रेभोच चलोवाहले गरेर टिमलाई सुविधाजनक अग्रता दिलाएका दिए । ट्रेभोचले सिनियर टोलीका लागि सिजनको पहिलो खेलमा पहिलो गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल चेल्सीले ३–० ले जित्यो ।

त्यस्तै, शनिबारै भएका अन्य खेलमा लेस्टर सिटीले उल्भसमाथि १–० को साँघुरो जित निकाल्यो । लेस्टरका लागि १ मात्रै विजयी गोल खेलको ४१औं मिनेटमा जिमी भर्डीले गरेका थिए । अर्काे खेलमा एभर्टनले आफ्नो घरेलु मैदानमा साउथ ह्याम्पटनमाथि ३–१ को जित निकाल्दै पहिलो खेलमै जित दर्ता गर्न सफल भयो । अन्य खेलमा वाटफोर्डले एस्टन भिल्लामाथि ३–२ को जित निकाल्दा ब्राइटनले बर्नलीलाई उसकै घरेलु मैदानमा २–१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्