युभेन्टसको शानदार जित



रोम, (एजेन्सी) ।

नयाँ सिजन २०२१–२२ को पूर्वसन्ध्यामा इटालियन क्लब सिरी ए क्लब युभेन्टसले अन्तिम मैत्रीपूर्ण खेलमा शानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युभेन्टसले लिगको बलियो टोली एट्लान्टालाई ३–१ गोलअन्तरले पराजित गरेको हो । आफ्नो घरेलु रंगशालामा दर्शकसहित भएको खेलमा युभेन्टसका लागि पाउलो डिबालाले पहिलो गोल खेलको आठौं मिनेटमै गरेका थिए । उनले फेड्रिको किइजाको पासमा निकै उत्कृष्ट गोल गरेका थिए । एट्लान्टाले खेलको १८औं मिनेटमा पेनाल्टीमार्फत् बराबरी गोल फर्काएका थिए । लुइस मुरिएलले पेनाल्टी गोल गरेपछि खेल १–१ भएको थियो ।

तर, त्यसपछि युभेन्टसले खेलमा आफ्नो पकडमा बढायो । खेलको ३९औं मिनेटमा फेड्रिको किइजाको दोस्रो असिस्टमा फेड्रिको बर्नान्डेचीले गोल गर्दै खेल २–१ बनाए । त्यसपछि तेस्रो गोल खेलको ९४औं मिनेटमा सब्सिच्युट खेलाडी अल्भारो मोराटाले गरे । उनको गोलमा डेजान सुलुसेभ्स्कीले असिस्ट गरेका थिए । मोराटाको गोलसँगै खेल युभेन्टसले ३–१ ले जित्यो ।

यस खेलमा प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो गोलविहीन बने । उनी खेलको ६३औं मिनेटमा सब्सिच्युट भएका थिए । मैत्रीपूर्ण खेल भएकाले यस खेलमा प्रशिक्षकले अधिकांश खेलाडी सब्सिच्युट गरेका थिए । युभेन्टसले अब अगस्ट २२ मा उडिनेससँग खेल्दै इटालियन सिरी ए को नयाँ सिजनको शुरूआत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्