करातेका पूर्वप्रशिक्षक हमालको निधन


काठमाडौं ।

करातेका पूर्वप्रशिक्षक किशोर हमालको निधन भएको छ । उहाँको ६२ वर्षको उमेरमा ललितपुरको अल्का अस्पतालमा गएराति निधन भएको हो ।

लामो समय पेटसम्बन्धी रोगबाट पीडित हमाल केही दिन अघि कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको थियो । शुरुआतमा उहाँको वीर अस्पतालमा उपचार गरिएको थियो । उच्च ज्वरोबाट पीडित हमाललाई दुई दिनअघि अल्का अस्पताल भर्ना गरिएको उहाँका श्रीमती एवं कराते सहायक प्रशिक्षक राधिका हमालले जानकारी दिनुभयो ।

कैलालीको धनगढी स्थायी घर भएका हमाल सुदूरपश्चिममा करातेको संस्थापकका रुपमा चिनिनुहुन्छ । उहाँले सुदूरपश्चिमको नौवटै जिल्लामा कराते खेलको विस्तार गर्नुभएको थियो । करातेका सुदूरपश्चिम क्षेत्रका प्रमुख प्रशिक्षक विमल खडायतका अनुसार हमालले २०४८ सालदेखि झण्डै एक दशकसम्म कैलाली, कञ्चनपुर, अछाम, डोटीलगायत जिल्लामा कराते खेलाडी उत्पादन गर्नुभएको थियो । “सुदूरपश्चिममा कार्यरत सबै प्रशिक्षक उहाँकै उत्पादन हुनुहुन्छ”, प्रशिक्षक खडायतले भन्नुभयो, “सुदूरपश्चिममा करातेको जग हल्ने काम नै उहाँले गर्नुभएको हो ।”

हमालले सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षका रुपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ आफ्नो समयमा करातेको अब्बल खेलाडीका रुपमा चिनिनुहुन्थ्यो । हमालको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।